हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी/प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह भोजका लागि निम्तो बाड्न सरकारी गाडीको प्रयोग भएको छ । माघ ११ गते विवाह गरेका मुख्यमन्त्री शेरधन राईले १६ गते विराटनगरमा प्रीतिभोज गर्दैछन् । विवाहको पार्टीको निम्तो पठाउनका लागि सरकारी गाडी प्रयोग भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको गाडी विवाहको निम्तो बाँड्न प्रयोग गरिएको हो ।सामाजिक विकास मन्त्रालयको को१झ ६७४ नम्बरको गाडी झापा, इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्म निम्तो बाँड्न पुगेको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयको को१झ ५८० नम्बरको गाडी उदयपुर हुँदै ओखलढुङ्गासम्म पुगेको थियो । ती गाडीले जिल्ला प्रशासन कार्यालयमा निम्तो कार्ड पुर्याएको थियो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय प्रशासन अनुगमन तथा भण्डारण शाखा अधिकृत रमेश खतिवडाका अनुसार मुख्यमन्त्री कार्यालयलले गाडी मागेपछि को१झ ६७४ नम्बरको गाडी उपलब्ध गराइएको बताए । ८ माघमा गएको गाडी १० गतेमात्र मन्त्रालयमा आएको थियो । ‘मन्त्रालयले मागेपछि हामीले गाडी पठायौं,’ उनले भने, ‘दुई दिनपछि फिर्ता आयो, कहाँ प्रयोग भयो जानकारी भएन ।’ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले विवाहको निम्तो बाँड्न गाडी प्रयोग भएको विषयमा आफूलाई जानकारी नभएको बताए ।

स्रोतका अनुसार सवारीका चालकलाई निम्तो कार्ड लिएर जिल्ला प्रशासन कार्यालयहरुमा पठाइएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयको को१झ ५८० नम्बरको गाडी राज्यमन्त्री अम्बिरबाबु गुरुङको सचिवालयले प्रयोग गर्छ । सो गाडी पहाड पुगेको विषयमा जानकारी नभएको मन्त्रालयका सूचना अधिकारी ओमप्रकाश साहले बताए ।-देवेन्द्र आलोक (विराटनगर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार