३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा उपप्रमुखमा अधिकांश ठाउँमा स्थानीय नेताका श्रीमती नै उपप्रमुखको उम्मेदवार भएका छन् ।

राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरी, भाइबुहारी, सालीदेखि गर्लफ्रेन्डका छोरीलाई समेत उम्मेदवार बनाउन सफल भएको बताइएको छ । राजनीतिमा योगदान नभए पनि केन्द्रीय राजनीतिमा आफ्नो राम्रो प्रभाव भएकै कारण पालिकामा उनीहरूले परिवारका सदस्यलाई उम्मेदवार बनाएका हुन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित प्रकाशमान सिंहले आफ्ना श्रीमतीलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । कांग्रेसका अर्का नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले समेत आफ्ना भाइलाई रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् ।
यस्तै, कांग्रेस नेता मोहन बस्नेतले आफ्ना भाइ बालकृष्ण बस्नेतलाई सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी रेणु दाहाललाई चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । उता सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाको मेयरमा भाइ कृष्णप्रसाद सापकोटालाई उम्मेदवार बनाएका छन् ।