हल्दिबारी न्यूज डेक्स- सुन्दरहरैचामा प्रदेश स्तरीय अस्पताल बन्नु सामान्य विषय नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले बताएका छन । सातै प्रदेशमा ल्याव सहितको सरुवा रोग अस्पताल निर्माणमा सरकार लागेको समेत उनले बताए ।
प्रदेश सरकारको सहकार्यमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा अस्पताल निर्माण हुने उल्लेख गर्दै सबैको पहुँचमा स्वास्थ्य सेवा पु(याउन सरकार कटिबद्ध भएको बताए । मोरङको सुन्दरहरैंचा ११ कर्जुना स्थित प्रदेश सरकार सामाजिक मन्त्रालयको आयोजना तथा वि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सह आयोजनामा प्रदेशिक सरुवा रोग अस्पतालको मंगलबार शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन ।
अस्पताल निर्माणका लागि चालु आर्थिक वर्षमा संघिय सरकारले ८ करोड रुपैयाँ विनियोजन गरेको बताउँदै मन्त्री ढकालले जम्मा २५ करोड रुपियाँको लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनेमा ढुक्क रहन आग्रह गरे । मंसिर १५ गते देशभर ३ सयभन्दा बढी अस्पताल शिलान्यास हुँदा यो अस्पताल पनि शिलान्यास गर्ने तयारी भए पनि प्राविधिक कारणले कठिनाइ भएको मन्त्री ढकालको भनाइ थियो ।
उनले आफू मन्त्री रहे पनि नरहे पनि अस्पताल निर्माणको प्रक्रिया नरोकिने बताउँदै प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल नमूना र महत्त्वपूर्ण हुने दाबी गरे । मन्त्री ढकालले अस्पताल प्रारम्भिक चरणमा ५० शैयाको हुने तथा विस्तारै स्तरोन्नति गर्दै लगिने बताए । मन्त्री ढकालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो सुविधा सम्पन्न स्वास्थ्य प्रतिष्ठानले प्राविधिक सहयोग गर्ने भएकोले यसको निर्माणमा कुनै समस्या नआउने बताए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको १५ बिघा जग्गामा अस्पताल बन्ने भएकाले ५० वर्षका लागि प्रदेश सरकारले जग्गा भाडामा लिएको र प्राविधिक पक्षको जिम्मा प्रतिष्ठानले लिने गरी सम्झौता भएको मन्त्री ढकालको भनाइ थियो ।
उनले सुन्दरहरैंचा वडा न। १२ मा रहेको स्वास्थ्य चौकीलाई ट्रमा सेन्टरको रुपमा विकसित गर्न सरकारले ५० लाख रुपियाँ विनियोजन गरिसकेको उल्लेख गरे । कार्यक्रमका विशिष्ट अतिथि तथा राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीले अस्पताल शिलान्यास हुनुमात्रै ठूलो कुरा नभएको उल्लेख गर्दै यसको निर्माणपक्ष छिटो र छरितो रुपमा हुनु पर्ने बताए । उनले कतिपय गौरवका काम र विकासका योजनाको शिलान्यास भएर कयौं बर्ष सम्म अलपत्र अवस्थामा रहने तथा भनेको बेला काम नहुने भएकोले यस्तो कार्यको अन्य हुनुपर्ने उल्लेख गरेका थिए । समारोहका विशिष्ट अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री हिक्मत कार्कीले प्रदेश सरकार तथा प्रतिष्ठान बीच सहकार्य भएकाले अस्पताल निर्माण र सञ्चालनमा कुनै समस्या नहुने उल्लेख गरे ।
उनले संघीय सरकारले दिएको बजेट अपुग भएमा प्रदेश सरकारले पनि थप सहयोग गर्ने बताउँदै यसको विकास निर्माणमा आफुले सकेको साथ सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेका थिए । अस्पतालको शिलान्यास कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझाले अस्पताल मात्रै नभएर उत्कृष्ट ल्याब सञ्चालन गर्नुका साथै औषधी उत्पादनमा पनि ध्यान दिने बताए । उनले आफ्नो क्षेत्रको विकासमा आफु सकारात्मक भएर लागि परेको उल्लेख गर्दै प्रदेशिक सरुवा रोग अस्पताल यस क्षेत्रमा निर्माण गर्नमा आफु लागि परेको बताएका थिए ।
सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले ठूला शहरभन्दा बाहिर यस्ता महत्त्वपूर्ण ठूला योजना आउँनुले पछाडि पारिएको क्षेत्रको पनि विकास हुने उल्लेख गरेका थिए ।-दिपेश कार्की
















