हल्दिवारी (झापा) – झापाको हल्दिवारी गाउँपालिकास्थित श्री दिपेन्द्र आधारभूत विद्यालयले शैक्षिक क्षेत्रमा अर्को एउटा महत्वपूर्ण इँटा थपेको छ। हल्दिवारी–४, ऐनाबारीमा रहेको यस विद्यालयका विद्यार्थी खगेन्द्र मिश्रले काठमाडौँस्थित प्रतिष्ठित बुढानीलकण्ठ विद्यालयमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्। देशभरका उत्कृष्ट विद्यार्थीहरूसँगको प्रतिस्पर्धामा उनले खुल्ला कोटातर्फबाट यो सफलता हासिल गरेका हुन्।

​दिपेन्द्र आधारभूत विद्यालयका लागि यो कुनै संयोग मात्र नभई निरन्तरको उत्कृष्ट नतिजाको उपज हो। यसअघि पनि यसै विद्यालयका विद्यार्थीहरूले राष्ट्रिय स्तरको यो अवसर प्राप्त गरिसकेका छन्। विद्यालयका अनुसार वि.सं. २०७१ सालमा अंकित महतोले पहिलोपटक बुढानीलकण्ठमा छात्रवृत्ति पाएका थिए। त्यसको एक दशकपछि वि.सं. २०८१ सालमा शिक्षा बास्कोटा र २०८२ सालमा समृद्धि मेचेले पनि सोही गौरवशाली इतिहासलाई दोहोर्‍याएका थिए।

​यस वर्ष खगेन्द्र मिश्रको छनोटले विद्यालयको सफलतालाई लगातार तेस्रो वर्ष पनि कायम राखेको छ। हाल अनुप, शिक्षा र समृद्धि बुढानीलकण्ठमै अध्ययनरत छन्। दुर्गम गाउँमा रहेर पनि सामुदायिक विद्यालयले निजी विद्यालयको भन्दा अब्बल नतिजा निकाल्नुले यस क्षेत्रको शैक्षिक गुणस्तर र शिक्षकहरूको मेहेनतलाई प्रमाणित गरेको छ।

​एकपछि अर्को गर्दै विद्यार्थीहरूले राष्ट्रकै उत्कृष्ट विद्यालयमा पूर्ण छात्रवृत्तिमा स्थान सुरक्षित गरेपछि विद्यालय परिवार, अभिभावक र स्थानीयबासी उत्साहित बनेका छन्। विद्यालयले मिश्रको उज्ज्वल भविष्यको कामना गर्दै यस उपलब्धिले आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझै उचाइमा पुर्‍याउन थप हौसला मिलेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार