हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी l नेपालमा मुस्लिम समुदायको अवस्था सरकारी तथ्यांक अनुसार दयनीय अवस्था रहेको बुझिन्छ । शिक्षा र रोजगारमा एकदमै कम रहेको मुस्लिम समुदाय भने नेपाली राजनीति गतिविधिहरुमा पनि शून्य भएको बराबर देखिन्छ । मुस्लिम समुदाय नेपाल नाम गरेको देश नै नभए बेलादेखि हालको नेपालमा बसोबास गर्दै आएको लामो इतिहास बोकेको समुदाय हो ।
बाइसेचौबीसे गणराज्यहरुमा विभाजित रहेका बेलादेखि नै नेपालको सीमानाभित्र हजारौंहजार वर्षदेखि मुस्लिम समुदाय बसोबास गर्दै आइरहेको छ। मुस्लिम समुदायका अगुवाहरु,विभिन्न संघ संस्था तथा स्वतन्त्र अध्ययन कत्र्ताहरुले भन्ने गरेका छन् कि नेपालमा मुस्लिमहरुको जनसङ्ख्या १६ देखी १८ लाखको हाराहारीमा रहेको अनुमान गर्दछन् । मजार शरीफ : झापा जिल्लाको मेचीनगर -१४ (साबिक दुआगडी) मा प्रत्येक वर्षको फाल्गुन २८,२९ र ३० गते भक्तजनहरुको घुईचो लागेको हुन्छ । धार्मिक, पर्यटकिय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिएको उक्त मजार शरीफमा जियारतका लागि देश बिदेशका बिभिन्न ठाउहरु बाट आएका भक्तजनहरुको निकै घुईचो लाग्ने स्थानियबासीहरु बताउछन् ।
माजार शरीफको स्थापना वि.सं.१९६४ मा भएको हो। उक्त मजार हजरत सूफी अजमत हुसैन रहमतुल्लाह अलैहि पिरको आस्थामा स्थापना गरिएको हो। यसको क्षेत्रफल कुल भूमि ६ कट्टा ३ धुरमा रहेको छ। जहाँ प्रत्येक वर्ष फाल्गुन महिनाको २८,२९, ३० गते ठूलो मेला (उरुश) लाग्ने गर्दछ र ठूलो संख्यामा मानिसहरू आई मेला (उरुश)लाई अझ आकर्षक रूप दिई मनाउँदै आई रहेका छन्। यस मजारलाई अझ आकर्षक स्वरूप दिन प्रयास भने जारी रहेको देखिन्छ। मो. लाल माेहम्मद मिया को अध्यक्षतामा मजार शरीफको भौतिक निर्माण कार्य सञ्चालन मा रहेकाे छ ।
मजार शरीफ स्थित साबिक दुआगडीमा ५३ वटा घर मुस्लिम समुदायका मानिसहरूको रहेकाे छ। अध्यक्ष मिया को अनुसार भौतिक निर्माण कार्य मुस्लिम समुदायबाट चन्दा संकलन गरी सुचारु भएको हो। मजार शरिफको निर्माण कार्य मा गुम्बद्को पनि निर्माण गरी अझ आकर्षक रूप दिने र यस क्षेत्र लाई पर्यटकिय क्षेत्र बनाउन सफल हुने उहाँहरुको विचार रहेकाे पाइन्छ। मजार शरिफलाई अझ आकर्षक रूपमा प्रस्तुत गर्न गुम्बद्को अग्लो गुम्बद् बनाउने प्रायस उहाँहरूको रहेकाे छ। उहाँ को अनुसार निर्माण कार्य मा कुल लागत रु.२५ लाख अनुमान गरिएको छ। जसमा अहिले सम्म रु.१२.५ लाख खर्च भई सकेको उहाँको भनाई छ।-जिनतशेख,भद्रपुर

















