इलाम, २ भदौ – भारतीय जेलबाट ४० वर्षपछि उद्धार गरिएका इलामको माइनगरपालिका–१० लुम्बाकका दुर्गा प्रसाद तिम्सिनाको मानसिक स्वास्थ्य थप जटिल बनेपछि उपचारको लागि बुधबार विराटनगर लगिएको छ ।

मानव अधिकार मञ्च नेपाल र माई नगरपालिकाले तिम्सिनाको थप उपचारको पहल थालेका हुन् । उनलाई विराटनगरमा ‘साइक्याट्रिक्स’ चिकित्सकलाई देखाएर आवश्यकताअनुसारको उपचारको पहल गरिने मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी दिए ।

विराटनगरस्थित मावन सेवा आस्रममा राखेर नियमित मनोसामाजिक परामर्श र आवश्यक उपचार गरिने विश्वकर्मा बताउँछन् । भारतीय जेलबाट उद्धार गरेर ल्याइएपछि प्रदेश १ सरकारले उनको उपचारको जिम्मा लिएको थियो ।
विराटनगरस्थित विराट मेडिकल कलेजमा १६ दिन उपचार गरेर उनलाई घर ल्याइएको थियो । तर, उनको मानसिक अवस्था झन जटिल भएको थियो । उनी गत सोमबार घरबाटै वेपत्ता भएका थिए । उनलाई प्रहरीले मेची राजमार्गमा राति फेला पारेर परिवारलाई जिम्मा लगाएको थियो ।
तिम्सिनाले घरै छाडेर हिँड्न थालेपछि उनलाई दोस्रोपटक उपचारको लागि लगिएको थियो । पहिलोपटक उनको शारीरिक अवस्थाको मात्रै उपचार गरिएको उनको भतिजा गोपाल तिम्सिनाले बताए ।
‘ठूलो बुबाको मानसिक अवस्थाको उपचार भएको थिएन’, भतिजा गोपालले भने, ‘डाक्टरले आफैँ रिकभर हुन्छ भनेका थिए, तर घर ल्याएपनि झन् झन् समस्या थपिँदै गयो ।’
विराटनगरमा मानसिक रोग विषेशज्ञलाई देखाएर आवश्यक उपचारको लागि पहल गरिने मानव अधिकार मञ्चले जनाएको छ । ‘सुुरुमा हामी विज्ञलाई देखाउँछौ, कहाँ कसरी उपचार गर्ने भन्ने एकिन भएपछि त्यहाँ लगेर उपचार गराउन हामी पहल गर्छौँ’, मञ्चका कार्यकारी निर्देशक विश्वकर्माले भने, ‘प्रदेश सरकारले उहाँको उपचारको जिम्मा लिने घोषणा गरेकै छ, प्रदेश सरकार र स्थानीय तहमा हामी समन्वय गराइदिन्छौ ।’
जेलबाट उद्धार गरेर ल्याउँदा उनी राम्रोसँग उभिन सक्दैन थिए । हिँड्डुल गर्नपनि अरुको साथ चाहिन्थ्यो । राम्ररी बोल्न सक्दैन थिए । उनको शारीरिक अवस्था पहिलेको तुलनामा राम्रो भएको छ । तर, मानसिक अवस्था भने झन् खराव भएपछि उनको परिवार चिन्तामा परेको थियो । ‘उहाँले कसैलाई आक्रमण गर्नुहोला भन्ने पिर हुन्थ्यो, बोलीको पनि ठेगान थिएन’, गोपाल थप्छन्, ‘कहिले अश्लील बोल्ने, कहिले मलाई जेलमै पु¥याइदे भन्नुहुन्थो, हामी त के गर्ने के गर्ने हुन्थ्यौँ ।’
अभियोग पुष्टि नभइ गैरन्यायीक रुपमा ४० वर्ष जेल जीवन विताएका दर्गाप्रसादले क्षतिपूर्ति पाउनुपर्ने परिवारको माग छ । यस विषयमा कोलकत्ता स्थित उच्च अदालतमा मुद्दा विचाराधिन छ । तर, सरकारको तर्फबाट उनलाई क्षतिपुर्ति दिलाउनको लागि कुनै पहल भएको छैन । तिम्सिनाको क्षतिपूर्तिको पाटोसमेत महत्वपूर्ण भएको भन्दै त्यसका लागि समेत पहल गर्ने मानव अधिकार मञ्चले जनाएको छ ।
विराटनगर लगेपछि उनको अवस्थाकाबारेमा राष्ट्रिय मानव अधिकार आयोगलाई क्षेत्रीय कार्यालयमार्फत जानकारी गराउने मञ्चका कार्यकारी निर्देशक विश्वकर्माले बताए ।
तिम्सिना अहिले आमा र भाइसँग बस्दै आएका थिए । आमाा धानमायाको श्रवण शक्ति कमजोर छ भने अपाङ्गसमेत छिन् । धनमायाको दायाँ हातको पाखुरा मूनिको भाग छैन । माईमा बसाई आउनुअघि एकतप्पामा हुँदै गाई धपाउने क्रममा गाइले हानेर उनको हात भाँच्चिएको धनमाया बताउँछिन् । उपचार नपाउँदा हात झरेको उनले बताइन् ।
दुर्गा प्रसाद तिम्सिनाको बहिनी तथा धनमायाकी कान्छी छोरी पविमाया पनि मानसिक रोगी छिन् । उनी घर नजिकैको जंगलमा पकाएर खाने, उतै बस्ने गर्छिन् । तिम्सिनाको परिवारले धनमायाकोसमेत उपचारको लागि अनुनय गरेपछि कसैको ध्यान परेको छैन । दुर्गाप्रसादका भाइ तथा गोपालका बाबु धर्मानन्दमासमेत मनोसामाजिक समस्या देखिएको थियो । उनी नियमित औषधि सेवन गर्छन् । धर्मानन्द पारिवारिक कलहको समेत सिकार बनेका छन् ।