समाचार
हल्दिबारी संवाददाता १८ मिनेट अगाडि

बोलेरो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, १३ जना घाइते

जिल्लाको मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

प्रहरीका अनुसार मिति २०८३ मंसिर ९ गते राति करिब ९ बजे लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आइरहेको लु.२ त.२४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दी बस्ने ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा सोही राति १० बजेर ३५ मिनेटमा मृत्यु भएको छ।

दुर्घटनामा परेर विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका १६ वर्षीय रविन चौधरीको हात र खुट्टामा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ। सोही स्थानका २० वर्षीय रिजन चौधरीको दाहिने हात, खुट्टा र टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ। त्यसैगरी सर्दीकै २३ वर्षीय विशाल रानाको दुवै हातमा, १५ वर्षीय श्याम चौधरीको अनुहार र बायाँ हातमा, १८ वर्षीय गुल्सन थापाको आँखा र नाकमा तथा १९ वर्षीय युवराज चौधरीको शरीरका विभिन्न भागमा चोट लागेको छ र उनीहरू सबैको अवस्था सामान्य रहेको छ। साथै सर्दीकै २६ वर्षीय सुमेन्द्र चौधरीको बायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ।

उता मध्यबिन्दु नगरपालिका–१० अरुणखोला बस्ने २१ वर्षीय आदिश आलेको कम्मरमा चोट लागेको र अवस्था सामान्य रहेको छ। अरुणखोलाकै १८ वर्षीय अश्विन चौधरीको मुख र छातीमा तथा २० वर्षीय निर्मल चौधरीको टाउकोमा चोट लागेको र दुवै जनाको अवस्था गम्भीर रहेको छ। त्यसैगरी १५ वर्षीय प्रिन्स विकको दुवै घुँडामा, ४० वर्षीय खेमनारायण चौधरीको दुवै घुँडा र टाउकोमा तथा २६ वर्षीय घनश्याम चौधरीको दायाँ हात र टाउकोमा चोट लागेको र उनीहरू तीनै जनाको अवस्था सामान्य रहेको छ।

घाइतेमध्ये रविन चौधरी, रिजन चौधरी, विशाल राना, श्याम चौधरी, गुल्सन थापा र युवराज चौधरीलाई थप उपचारका लागि राति ११ बजेर ५५ मिनेटमा नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ। अवस्था गम्भीर रहेका अश्विन चौधरी र निर्मल चौधरीलाई पनि थप उपचारका लागि सोही अस्पताल रिफर गरिएको छ।

यता सुमेन्द्र चौधरी र आदिश आले उपचारपछि डिस्चार्ज भएका छन्। त्यसैगरी प्रिन्स विकलाई मध्यबिन्दु प्रादेशिक अस्पताल तथा खेमनारायण चौधरी र घनश्याम चौधरीलाई सेवा मेडिकल अरुणखोलामा उपचारपछि राति ११ बजेर ५५ मिनेटमा डिस्चार्ज गरिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)