समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङकी आमाको निधन

झापा । भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले) लाई मातृशोक परेको छ। उहाँकी आमा धनमाया तामाङको ८७ वर्षको उमेरमा बुधबार साँझ भारतको सिलिगुडीमा निधन भएको हो।

​उमेरजन्य तथा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याका कारण पछिल्ला केही महिनादेखि अस्वस्थ रहनुभएकी तामाङको पश्चिम बङ्गालको सिलिगुडीस्थित एक निजी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

​सन् १९३९ मा जन्मिनुभएकी तामाङ सिक्किमको सोरेङ जिल्लास्थित सिङलिङ गाउँकी स्थायी बासिन्दा हुनुहुन्थ्यो। उहाँका श्रीमान् कालुसिंह तामाङको सन् २०२२ फेब्रुअरीमा निधन भइसकेको छ। स्वर्गीय तामाङका मुख्यमन्त्री प्रेमसिंह तामाङसहित चार छोरा, तीन छोरी, नातिनातिना र पनातिपनातिना छन्।

​पारिवारिक स्रोतका अनुसार दिवङ्गत तामाङको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि सिलिगुडीबाट उहाँको जन्मथलो सिङलिङ लगिएको छ। बौद्ध परम्पराअनुसार धार्मिक विधि पूरा गरी उहाँको गृहगाउँमै अन्त्येष्टि गरिने कार्यक्रम तय भएको छ।

​मातृशोकमा रहनुभएका मुख्यमन्त्री तामाङ र शोकसन्तप्त परिवारप्रति सिक्किमका राज्यपाल दुष्यन्त गौतम, सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम), विपक्षी दलहरू सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडिएफ), सिटिजन एक्सन पार्टी (सिएपी) सिक्किमलगायत विभिन्न राजनीतिक दल तथा सामाजिक सङ्घसंस्थाले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उहाँको निधनले सिक्किम राज्यभर शोकको वातावरण छाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)