काठमाडौं — सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरी महिला तथा बालबालिकामाथि हुने अनलाइन दुर्व्यवहार र चरित्र हत्याका घटनाविरुद्ध प्रहरीले कारबाही तीव्र पारेको छ। पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट यस्ता गतिविधिमा संलग्न ९ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्यूरो तथा मातहतका विभिन्न प्रहरी कार्यालयहरूको सहकार्यमा सञ्चालन भइरहेको ‘अपरेशन डिजिटल अनर’ अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको हो। पछिल्लो समय सामाजिक सञ्जालमा नक्कली खाता बनाउने, व्यक्तिगत तस्बिर तथा भिडियोको दुरुपयोग गर्ने, अश्लील तथा अपमानजनक अभिव्यक्ति दिने, धम्की दिने र सामाजिक प्रतिष्ठामा आँच पुऱ्याउने प्रवृत्ति बढ्दै गएपछि प्रहरीले यो विशेष अभियान सञ्चालन गरेको हो।
पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। मिति २०८३ मंसिर ९ गते पक्राउ परेकामध्ये केही मुख्य आरोपीको गतिविधि समेत सार्वजनिक गरिएको छ।
त्यसै क्रममा सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोलेर पीडित नाबालिकाका आफन्त तथा साथीहरूलाई अश्लील तस्बिर र भिडियो पठाई दुःख तथा हैरानी दिएर चरित्र हत्या गरेको आरोपमा काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय आशिष तामाङ पक्राउ परेका छन्। उनलाई साइबर ब्यूरोबाट खटिएको टोलीले टोखा क्षेत्रबाटै नियन्त्रणमा लिएको हो।
यसैगरी, सामाजिक सञ्जाल इमोमार्फत पीडित युवतीलाई अश्लील, अपमानजनक र अशोभनीय अभिव्यक्ति दिई दुर्व्यवहार तथा चरित्र हत्या गरेको आरोपमा ललितपुर महानगरपालिका वडा नम्बर १४ बस्ने ३७ वर्षीय रोहित विक्रम राणालाई सातदोबाटोबाट पक्राउ गरिएको छ।
अर्को घटनामा प्रेम सम्बन्ध टुटेपछि पीडितका तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी दुःख हैरानी दिएर चरित्र हत्या गरेको आरोपमा भारतको बिहार स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर १ बस्ने ३२ वर्षीय महमद फेसल एजाजलाई पनि प्रहरीले पक्राउ गरेको छ। साइबर ब्यूरोको टोलीले उनलाई काठमाडौंको न्यूरोडबाट नियन्त्रणमा लिएको हो।
बाँकी पक्राउ परेका अन्य व्यक्तिहरूका विषयमा समेत विस्तृत अनुसन्धान भइरहेको र सामाजिक सञ्जालको सुरक्षित तथा मर्यादित प्रयोग गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ।