समाचार
हल्दिबारी संवाददाता १२ मिनेट अगाडि

झापाको बुधबारेमा अनुदानित मल दुरुपयोग, कृषि भण्डारलाई २ लाख जरिवाना

झापा । नेपाल सरकारबाट अनुदानित रासायनिक मलको अनधिकृत बिक्री वितरण तथा हिनामिना गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिका–३, बुधबारे बजारस्थित संजीवनी कृषि भण्डारलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

​प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको निर्देशनमा सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा खटिएको संयुक्त अनुगमन टोलीले बुधबार आकस्मिक अनुगमन गरी उक्त भण्डारलाई तत्कालै जरिवाना तिराएको हो।

​गोप्य सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा संजीवनी कृषि भण्डारले खरिद गरेको कुल ४०० बोरा अनुदानित मलमध्ये १५९ बोरा मलको मौज्दात र बिक्री विवरण देखाउन नसकेको प्रशासनले जनाएको छ।

​जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त भण्डारले मंसिर ८ गते साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, बिर्तामोडबाट १७० बोरा युरिया र ६० बोरा डीएपी गरी २३० बोरा मल खरिद गरेको थियो। त्यस्तै, मंसिर ९ गते कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट थप १७० बोरा डीएपी मल बुझेको थियो।

​खरिद गरिएको कुल ४०० बोरा (१७० बोरा युरिया र २३० बोरा डीएपी) मध्ये अनुगमनका क्रममा गोदाममा २४१ बोरा (१२१ बोरा डीएपी र १२० बोरा युरिया) मात्र मौज्दात फेला परेको थियो। बाँकी १०९ बोरा डीएपी र ५० बोरा युरिया गरी १५९ बोरा मलको हिसाबकिताब तथा बिक्री विवरण सञ्चालकले पेश गर्न नसकेपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम जरिवाना गर्दै थप कारबाहीका लागि प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

​मलको अभाव भइरहेका बेला अनुदानित मलको बिक्री वितरणमा तोकिएका सर्तविपरीत काम भएको पाइएपछि प्रजिअ पोखरेलले अनुगमनलाई तीव्रता दिएका हुन्। सहायक प्रजिअ रायमाझीको नेतृत्वमा खटिएको टोलीमा कृषि ज्ञान केन्द्र झापाका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

​सोही क्रममा बुधबारेकै वडा नं. ३ स्थित ७ नम्बर चोकमा रहेको न्यू कञ्चन कृषि सहकारी संस्थामा समेत अनुगमन गरिएको थियो। उक्त सहकारीको रासायनिक मल खरिद, बिक्री र मौज्दातको विवरण भने दुरुस्त पाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)