हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सप्तरीमा लोकतांत्रिक समाजवादी पार्टीको स्थिति बलियो

हल्दिबारी न्यूज डेक्स राजबिराज- नेपालमा जातिय राजनीतिले पटक पटक मलजल हुने अवसर पाउने गरेको छ । पछिल्लो पटक प्रदेश नं. २ मा जनता समाजवादी पार्टी विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा निर्वाचन आयोगको कार्यालयमा बुधवार सनाखत गर्न जाने प्रदेश सांसद ११ मध्ये कोही पनि यादव समुदायबाट नपर्नुले यसलाई पुष्टी गरेको छ ।

Advertisement

कसो सभामुख रहेका सरोजकुमार यादवले महन्थ ठाकुरलाई साथ दिएर यादवलाई समावेशीको रुपमा पाए । सभामुख यादव राजेन्द्र महतो निकट भएकाले लोकतान्त्रिक समाजवादी पार्टी तर्फ लागेका हुन् । जनता समाजवादी पार्टी छोडेर प्रदेश निर्वाचन कार्यालयमा गएर लोकतान्त्रिक समाजवादी पार्टी तर्फ जाने सांसदहरुमा परमेश्वर साह, जयनुल राइन, गौरी नरायण साह, सुरिता साह, निलम भूमिहारनि, रमेश कुर्मी, बाबुलाल साह, अल्का कुमारी झा, बबिताकुमारी चौधरी र जानकी शरण साह रहेका छन् ।

Advertisement

निर्वाचन कार्यालय पुगेर पनि प्रदेश सांसदहरु जितेन्द्र सोनल, उपेन्द्र महतो, अभिराम शर्माले भने सनाखत गरेनन् । उनीहरुले केही ढुलमुल मार्काका सांसदहरुलाई संगै ल्याएर निर्वाचन आयोगले तोकेको दिन भित्रमा लोसपाको पक्षमा सनाखत गर्ने बुझिएको छ । प्रदेश सांसद जितेन्द्र सोनलको भनाईलाई मान्ने हो भने अब जितेन्द्र सोनल, उपेन्द्र महतो, अभिराम शर्मा र रानी शर्मा गरी चार जनाले लोसपाको पक्षमा सनाखत गर्नेछन् । यो जोड्दा पनि महन्थ ठाकुरले नेतृत्व गरेको पार्टीको १५ सांसद मात्र पुग्दछ ।

राजपा पार्टीले प्रदेश २ मा २५ सांसद पद पाएको थियो । २५ मध्ये १० जना उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टीमा जाने देखिएको छ । हुन त लोसपाका नेताहरुले २५ मा २० आफै तर्फ तान्ने प्रयत्न गरिरहेका छन् । ३० सांसद भएको पुरानो उपेन्द्र यादवको पार्टीले केही भएपनि थप सांसद प्राप्त गर्ने पक्का पक्कि छ । तर यी सांसदहरु थपिनुमा ६ वटा पार्टी मिलेर बनेको पुरानो राजपा पार्टीको रिले दौडमा सभापति हुनेहरुमध्ये महेन्द्र राय यादव र राजकिशोर यादवले आफ्नो पुरानो पार्टी राजपाको समुह तर्फ नआई उपेन्द्र यादवलाई सहयोग गरेका छन् । यसरी दुई दुईजना त्यो पनि यादव समुदायकै नेताहरु उपेन्द्र यादव तर्फ लाग्नुले प्रदेश २ मा यादवको जातीय राजनीतिले नयाँ रुप धारण गरेको हो कि भन्ने अडकल गरिदैछ ।

उपेन्द्र यादवको जन्म स्थल सुनसरीमा राजनीति गर्नका लागि मुस्लिमहरुको साथ नभइ सफल हुन नसक्ने भएपछि प्रदेश २ मात्र होइन, सिङ्गो मधेसमा यादव र मुस्लिम समुदाय मिलेर अघि बढेमा सधैं बर्चश्व कायम गर्न सकिन्छ भन्ने रणनीतिलाई अनुशरण गरेर नै मूख्यमन्त्रीमा लालवावु राउतलाई चयन गर्न लगाएका थिए । धन्न महन्थ ठाकुरको समुहलाई यसपटक एकजना सांसद जयनुल राइनले साथ दिएका छन् । यसले महन्थ ठाकुर तर्फ एकजना मुश्लिम र एकजना यादव आएर समावेशी कोटा पुरा गरेजस्तो मात्र भएको छ । भित्रभित्रै यादव प्लस मुश्लिम एक हुने रणनीतिले बाध्य भएर गैर यादव थरहरु एकातर्फ जानुपर्ने स्थिति देखिएको छ । सप्तरी जिल्लामा पचपनियाँ जातिको संगठन सुसुप्त रुपमा अघि बढेको बर्षौ भएको छ ।

मधेस आन्दोलनको लगतै पछाडी मधेसी जनअधिकार फोरमको एकताका महासचिब समेत रहीसकेका रामदुलार साहले संविधानसभाको सभासदको निर्वाचनमा हारखानु परेको थियो । फोरमबाट उठेका भएपनि उनी यादव नभएकै कारणले अर्को पार्टीका यादव थरकाले जितेका थिए । कतै फेरी मधेसका जाति जातिबीचमा राजनीतिक प्रतिस्पर्धा हुने अवस्था त आउने होइन भन्ने विश्लेषण गर्न थालिएको छ ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)