हल्दिबारी न्यूज डेक्स ,बिराटनगर/जबरजस्ती करणी मुद्दामा अदालतको आदेशबाट थुनामा पुगेका मोरङ कारागारका एक बन्दीको बिहीबार बिहानका राति विराटनगरमा मृत्यु भएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० घर भएका ६० वर्षीय भीमलाल सुब्बाको मृत्यु भएको हो । जबरजस्ती करणी मुद्दामा उनलाई जिल्ला अदालत मोरङले गत असार ७ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । कारागार चलान भएका उनको मुद्दाको फैसला हुन बाँकी नै थियो । मुद्दाको किनारा नलागेकै अवस्थामा बन्दीको मृत्यु भएको मोरङ कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताए ।

उनका अनुसार बुधबार राति १० बजेतिर एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि सुब्बालाई उपचारका लागि कोसी अस्पताल लगियो । कोसीमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको पोखरेलले बताए ।
उपचारका क्रममा नोबेलमै बिहानका राति २ बजेतिर मृत्यु भएको उनले बताए । पोखरेलका अनुसार मृतकमा उच्च रक्तचापको पुरानै समस्या थियो । परिवारका सदस्यले शव बुझेर अन्त्येष्टिका लागि लिएर गइसकेको जानकारी उनले दिए ।-कमला भट्टराई