स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नोबेल अस्पतालले थाल्यो प्रदेश १ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण

हल्दिबारी न्यूज डेक्स
विराटनगर : मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका–६ का ३३ वर्षीय टेकनाथ भुर्तेलको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालका सञ्चालक डा. सुनिल शर्माले जानकारी दिए। टकेनाथलाई उनकी श्रीमती ३३ वर्षीया नन्दकुमारीको मिर्गौला दिएकी हुन्।
‘नोबेलमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ,’ डा.शर्माले भने, ‘प्रदेश १ मै पहिलो पटक नोबेलले मिर्गौला प्रत्यारोपण थालेको हो। अब नियमित रुपमा प्रत्यारोपण सेवा सञ्चालन गर्छौं।’ नोबेलका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा. शैलेन्द्र श्रेष्ठ र युरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा. रामसागर शाहको नेतृत्वमा प्रत्यारोपण सेवा सुरु गरिएको हो। डा. शाहसहितको टिमले गत शनिवार भुर्तेलको मिर्गौला प्रत्यारोपण गरेको हो। मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा. प्रेम ज्ञवाली, डा. दिपेश श्रेष्ठ, एनएसथियोलोजिष्ट अर्चन अधिकारीसहितको टिमले सहयोग गरेको अस्पतालले जनाएको छ।
ल्याप्रोस्कोपिक विधिबाट नन्दकुमारीको वाया मिर्गौला निकालेर टेकनाथको पेट चिरेर दायाँतर्फ राखिएको डा. शाहले जानकारी दिए। ‘नेपालका कुनै पनि अस्पतालले ल्याप्रोस्कोपिक विधिबाट मिर्गौला निकालेर प्रत्यारोपण गरेका छैनन्,’ उनल भने‚ ‘हामीले पहिलो पटक नै ल्याप्रोस्कोपिक विधि प्रयोग गर्यौं।’
अस्पतालका निर्देशक डा. राजेश नेपालका अनुसार मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि अनुमति माग गर्दै नोबेलले २०७६ भदौ महिनामा निवेदन दिएको थियो। स्वास्थ्य सेवा विभागको अंग प्रत्यारोपण समन्वय समितिको गत साउन १ गतेको निर्णय बमोजिम नोबेललाई मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिइएको हो।-कमला ओम बशिष्ठ

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article