सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । पाँच दलीय गठबन्धनको आजको बैठकमा मुख्यगरी सरकार विस्तारबारे छलफल भैरहेको छ । गठबन्धनमध्येका एउटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
गठबन्धनमा रहेका दलहरूलाई राजनीतिक दलसम्बन्धी अध्यादेशले सरकार विस्तारमा अवरोध सिर्जना गरिरहेको छ । सत्ता गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी दलविरुद्ध अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ ।

अहिलेकै अवस्थामा सरकार विस्तार हुँदा अर्को सहयात्री दल जनता समाजवादी पार्टी फुट्न सक्ने सम्भावना छ । त्यसैले पनि सो अध्यादेशलाई निस्क्रिय बनाउन सरकारले प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ ।

राष्ट्र संघीय सभामा नेपालको प्रतिनिधित्व हुनुपर्ने भएकाले आज कांग्रेसका नेता डा नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेको थियो । भोलि माओवादी काँग्रेस र जसपाका गरि कम्तिमा पाँच मन्त्री थप्ने देउवाको तयारी छ । माओवादी अध्यक्ष प्रचण्डले आजै केही मन्त्रीको नाम देउवालाई बुझाएका छन् ।