आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सांसदहरूको कार्यकाल सकिँदै छ । २० जनाको राष्ट्रिय सभाका सदस्यको चार वर्षे कार्यकाल सकिन लागेको हो ।राष्ट्रियसभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न निर्वाचन आयोगले सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा आयोगले यस्तो सिफारिस गरेको हो ।

संविधानको धारा ८६९३० र राष्ट्रियसभा नियमावली, २०७५ को नियम २०८ को व्यवस्थाअनुसार फागुनदेखि २० राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएपछि आयोगले नयाँ चुनाव सिफारिस गरेको हो । २०७४ साल फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचनबाट निर्वाचित भएका ५९ सदस्यको गोला प्रथाबाट कार्यकाल तय गरिएको थियो । जसमध्ये गोला प्रथाबाट २ वर्ष कार्यकाल तय भएका सांसदहरु अघिल्लो वर्ष नै बिदा भएका थिए भने ४ वर्षे कार्यकाल तय भएकाकको आगामी फागुन २० गतेबाट पदावधि सकिन लागेको हो ।

पदमुक्त हुन लागेका एमाले सांसदहरुमा अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी र माओवादी केन्द्र सांसदहरुमा खिमकुमार विक, जीवन बुढा,। दीनानाथ शर्मा र शशीकला दाहाल पदमुक्त हुँदैछन् ।
यस्तै एकीकृत समाजवादीका सांसदहरुमा उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शानितकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर र त्यस्तै मनोनीत सांसद रामनारायण बिडारी पनि पदमुक्त हुने छन् ।