समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हुम्ला सदरमुकाममा डेढ महिनादेखि विद्युत सेवा अवरुद्ध हुँदा अन्धकारमय बन्यो

हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र डेढ महिनादेखि अन्धकारमय बनेको छ । सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्र र उपभोक्ता समितिको चरम लापरवाहीले सिमकोटसहित दुईवटा गाउँपालिकावासी अन्धकारमा बस्नुपर्ने बाध्यता छ ।भदौ अन्तिमदेखि अवरुद्ध बनेको विद्युत समयमै मर्मत नहुँदा सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुई हजार तीन सय बढी सेवाग्राही अन्धकारमा बस्नुपरेको छ ।

Advertisement

पावर हाउस नजिक रहेको ओभरफ्लो तथा विद्युत गृहको फर्बेमा बाढीपहिरोले क्षति गर्दा विद्युत सेवा डेढ महिनादेखि बन्द छ । विद्युत गृहको फर्बेमा केही मात्रामा मर्मत भए पनि पहिरोले लगेको भाग पूरै मर्मत हुन सकेको छैन। सो भाग मर्मत गर्न अझै समय लाग्ने भएको नेपाल विद्युत प्राधिकरण हेल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए । “पूरै भाग मर्मतका लागि बजेट र सामग्रीको अभाव छ, अहिले केही मात्रामा मर्मत गरेर अस्थायी रूपमा विद्युत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ”, उनले भने ।

Advertisement

पहिरोले लगेको क्यानलसहित अन्य क्षेत्र मर्मत गर्न ठूलो बजेटको आवश्यक पर्नुका साथै समय बढी चाहिने भएको उनले बताए । पहिरोले लगेको विद्युत गृहको फर्बेमा झन्डै तीन सय ६५ थान ग्याविनको समेत आवश्यक पर्ने देखिएको प्रमुख ऐडीले जानकारी दिए । मर्मतका नाममा हेल्दुम वितरण केन्द्रको आयोजनाले वर्षेनी करोड बढी खर्च गरिसकेको छ । तर दिगोपन हुन सकेको छैन ।

यसपटक मर्मतका लागि २५ लाख बजेट विनियोजन भइसकेको छ। एकपटक विद्युत अवरुद्ध हुँदा २० लाखभन्दा बढी खर्च लाग्ने गरेको छ । वैशाखयता दुईपटक मर्मत भइसकेको छ । आयोजनाको सामग्रीहरू पुरानो भएका कारण पटक पटक मर्मत गर्नुपरेको हो । आयोजनाको विभिन्न स्थानमा रहेका क्यानल चुहिने अवस्थामा छन् । विद्युत गृहको फर्वेमा अहिले पोलिथिन पाइप जडान गरिएका छन् । यसले गर्दा हिउँदमा बरफ जम्ने भएका कारण फुट्ने गरेको छ ।

टालटुल गर्दै बजेट खर्च(सधैं विद्युत सेवा अवरुद्ध भइरहे पनि मर्मतका नाममा टालटुल पारेर लाखौंको बजेट खर्च हुने गरेको छ । खार्पुनाथ गाउँपालिका र सिमकोट गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको पाँच सय किलोवाट क्षमताको हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत बन्द भएको हो ।आयोजनाको पावर हाउस नजिक रहेको दुई ठाउँमा भत्किँदा सिमकोटलगायतका गाउँ अन्धकार भएको हिल्दुम साना जलविद्युत आयोजना वितरण केन्द्रले जनाएको छ ।

जिल्ला सदरमुकाम सिमकोटमा आपूर्ति भएको विद्युत अवरुद्ध भएपछि यहाँका सरकारी तथा गैरसरकारी कार्यालयसहित सेवाग्राहीले सास्ती खेपी रहनु परेको छ । ओभरफ्लोसहित भत्किएका विभिन्न ठाउँमा मर्मत गरे पनि अस्थायी रूपमा बनाइएका छन् ।

विद्युत् आपूर्ति बन्द हुँदा सिमकोटमा सञ्चालित इलोक्ट्रोनिक पसल व्यवसायी र सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा प्रवाह गर्नसमेत समस्या भएको छ । सिमकोटमा रहेका एक दर्जन बढी बैंक तथा वित्तीय संस्थाको दैनिक काममा बाधा पुगेको छ ।यस्तै नेपाल टेलिकम शाखा हुम्लाले विद्युत् सेवा अवरुद्ध हुँदा जेनेरेटरबाट सेवा सञ्चालन गरिरहेको छ । विद्युत् नहुँदा राति १० देखि बिहान ६ बजेसम्म टेलिकमका सम्पूर्ण सेवा बन्द हुने गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article