जनकपुर बम काण्डका मुख्य योजनाकार पूर्वराज्य मन्त्री सञ्जय साहलाई ११ वर्षको कैद सजाय सुनाईएको छ । सोमबार उच्च अदातल जनकपुरले साहलाई ११ वर्षको सजाय फैसला सुनाएको हो ।

साहलाई ज्यान मार्ने षड्यन्त्र कसुरमा उच्च अदालतका न्यायाधीशद्वय धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले ११ वर्षको कैद सजायको फैसला गरेको हो । २०६९ साल वैशाख १८ गते मिथिला राज्यको माग गर्दै मिथिला राज्य सङ्घर्ष समितिले जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेकालाई लक्षित गरी लक्षित गरी शक्तिशाली बम विस्फोट भएको थियो । बम विस्फोट हुँदा ५ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका थिए ।

बम विस्फोटको घटनामा मुख्य योजनाकार भएको अभियोगमा पूर्व राज्यमन्त्री साहलाई जन्मकैदको सजाय जिल्ला अदालत धनुषाले सुनाएको थियो । साह हाल काठमाडौँको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् । त्यस्तै पूर्व राज्यमन्त्री साहलाई जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानिया हत्यामा पनि धनुषा जिल्ला अदालतले जन्मकैद सजायको फैसला सुनाएको थियो । सिंघानीया हत्या काण्डमा पनि प्रमुख योजनाकारको रुपमा साहलाई बनाइएको थियो।