समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै

गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि आक्रोशित स्थानीयले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरे ।

Advertisement

सो आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका माथि प्रहरीले गोली चलाउँदा मधुवन नगरपालिका–२ बस्ने १८ वर्षीया नवीना थारुको मुत्यु भयो भने मधुवन नगरपालिकाकै २२ वर्षीय राकेशकुमार चौधरी घाइते भएका छन् ।त्यसको केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदाय सडक आन्दोलनमा उत्रिने क्रममा गोली चल्दा अनाहकमा सर्वसाधारणको ज्यान गएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताउनुभयो ।

Advertisement

पछिल्ला वर्षमा पश्चिम तराईको बाँके र बर्दिया जिल्लामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढेको छ । गत पाँच वर्षमा बाघको आक्रमणबाट बर्दियामा २३ र बाँकेमा छ गरी २९ जनाको मृत्यु भएको छ । दुवै निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै बाघ आक्रमणका घटना पनि बढ्दै जाँदा मृत्यु हुने क्रम पनि बढेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, पछिल्लो समय बाघको सङ्ख्या बढ्दै जानु, वन अतिक्रमण बढ्नु र भौतिक पूर्वाधारको विकासले बाघको वासस्थान खण्डित हुँदै गएकाले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको छ ।

बर्दियामा चालु आर्थिक वर्ष २०७८÷०७९ मा पाँच जना, ०७७÷०७८ मा सबैभन्दा बढी १२ जना र ०७६÷०७७ मा छ जना गरेर २३ जनाको ज्यान गएको छ । उहाँले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाएर दुवैको सहअस्तित्व कायम गर्नका लागि निकुञ्जले नेपालमै पहिलोपटक पाँच वर्षीय रणनीतिक योजना बनाएर काम सुरु गरिसकेको बताउनुभयो ।बर्दियाको मधुवन नगरपालिका क्षेत्रका स्थानीयले खाता क्षेत्रका बाघ स्थानान्तरण गरिनुपर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने माग गर्दै आएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष गुरुङको भनाइ छ ।

पछिल्ला केही वर्षदेखि बाघ र मानव द्वन्द्व बढ्दै जाँदा बर्दियाबाट मानव आक्रमणमा संलग्न छ वटा र बाँकेबाट एउटा बाघलाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको छ । बाँकेमा गत पाँच वर्षमा बाघको आक्रमणबाट छ जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी कुननारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार, चालु आवमा बाघको आक्रमण सबैभन्दा बढी भएको छ । वन्यजन्तुबाट हुने क्षतिलाई कम गर्न निकुञ्जले विभिन्न गतिविधि गर्दै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article