समाचार
हल्दिबारी संवाददाता ५ मिनेट अगाडि

२३७ किलोग्राम अवैध लागुऔषध गाँजासहित गाडी बरामद

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोष्ट नजिकबाट २३७.१७ किलोग्राम अवैध लागुऔषध गाँजासहित एउटा गाडी बरामद गरिएको छ।

गत मंसिर १२ गते साँझ करिब ५:४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंका लागेर प्रहरीले रोक्न खोजेको थियो। तर, चेकजाँचमा नरोकी चालकले तीव्र गतिमा गाडी भगाएपछि प्रहरी टोलीले पछ्याउन थालेको थियो।

प्रहरी चौकी पथलैया र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त टोलीले गाडीको पिछा गर्ने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउ गाडी रोकिएको अवस्थामा फेला पारेको थियो। चालक भने गाडीको इन्जिन चालु अवस्थामै छाडेर जंगलतर्फ भाग्न सफल भएका थिए।

प्रहरीले उक्त जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजी गरे पनि चालक फेला परेनन्। यद्यपि, चालक भागेको दिशातर्फ एउटा किप्याड मोबाइल भने बरामद भएको छ। त्यसपछि गाडीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २३७.१७ किलोग्राम गाँजा फेला परेको हो।

हाल गाँजा र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी कार्यसँगै घटनाको थप अनुसन्धान भइरहेको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)