समाचार
हल्दिबारी संवाददाता १३ मिनेट अगाडि

अम्बानीको विवाहलाई टक्कर दिने बिहारका विधायकको ‘शाही’ बिहे, ५ लाख पाहुना डाकेर छोरीको भव्य विवाह

पटना । भारतको बिहार राज्यस्थित मोकामा क्षेत्रका प्रभावशाली विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको भव्य विवाह समारोह यतिबेला देशभर चर्चा र बहसको विषय बनेको छ । पटनाबाट करिब ६५ किलोमिटर टाढा रहेको विधायक सिंहको पुर्ख्यौली गाउँ नदवाँमा बुधबार शिवांगी र ऋषिकेश कुमार वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

धेरै दिनसम्म चलेको यस विवाह उत्सवमा करिब पाँच लाख मानिसको सहभागिता रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । अतिविशिष्ट पाहुनाहरूको आवागमनलाई सहज बनाउन गाउँमै ६ वटा अस्थायी हेलिप्याडसमेत निर्माण गरिएको थियो । लाखौँको भीड जम्मा भएपछि नदवाँ गाउँ कुनै ठूलो मेला मैदानजस्तै देखिएको थियो भने पटना आवतजावत गर्ने मुख्य सडकमा १० किलोमिटर लामो सवारी जाम लाग्दा यातायात घण्टौँसम्म अवरुद्ध बन्न पुग्यो ।

विवाहको भोजलाई भव्य बनाउन ५०० जना दक्ष सेफ तथा भान्सेहरू परिचालन गरिएको विधायक सिंहका निकट सहयोगी मुन्ना सिंहले जानकारी दिएका छन् । भान्सेहरूले ८० लाख थान मिठाईसहित १५० भन्दा बढी प्रकारका स्वादिष्ट परिकार तयार पारेका थिए । मासुका परिकार तथा कबाब बनाउनका लागि मात्र एक हजार किलो खसीको मासु खपत भएको बताइएको छ ।

यद्यपि, विशाल भोजको व्यवस्थापकीय पाटो भने निकै अस्तव्यस्त देखिएको थियो । सामाजिक सञ्जालमा बाहिरिएका दृश्यहरूमा खाना खाने प्लेटहरू भीडतर्फ क्याच खेलेझैँ फ्याँकिएको र एउटा प्लेट हात पार्न पाहुनाहरूबीच तँछाडमछाड तथा धकेलाधकेल भएको देखिन्छ । प्लेट नपाएका कतिपय पाहुनाले सिधै भाँडाबाटै खाना झिकेका थिए भने केहीले कागजका कार्डबोर्डको टुक्रामा पुरी र मटर पनीर राखेर खाएको दृश्यले विवाहको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ ।

समारोहको आकर्षण बढाउन घोडदौड प्रतियोगितासमेत राखिएको थियो, जसका लागि ५२ वटा घोडा ल्याइएका थिए । तर, दर्शकको अनियन्त्रित भीड मैदानभित्रै पसेपछि मुख्य प्रतिस्पर्धा स्थगित गरी बिहीबारका लागि सारिएको थियो । उक्त प्रतियोगितामा प्रथम हुनेलाई १० देखि २० लाख भारतीय रुपैयाँ पर्ने एसयूभी गाडी, द्वितीयलाई मोटरसाइकल र तृतीयलाई स्कुटर पुरस्कार दिने घोषणा विधायक सिंहले गरेका थिए ।

विवाहको दिन बेहुली शिवांगी विलासी ल्यान्ड क्रुजर गाडीमा समारोहस्थल पुगेकी थिइन् । उता, अमेरिकाको जर्जिया स्टेट युनिभर्सिटीबाट एमबीए अध्ययन पूरा गरेका बेहुला ऋषिकेश १५१ वटा गाडीको विशाल लस्करसहित जन्ती लिएर आएका थिए । बेहुलीका पिता अनन्त सिंह पनि समर्थकहरूको बाक्लो भीडलाई अभिवादन गर्दै एसयूभी गाडीको सनरुफबाट बाहिर निस्किएर समारोहमा सहभागी भएका थिए ।

सञ्चारमाध्यमहरूका अनुसार बेहुला पक्षले बेहुलीको माइतीबाट करिब दुई करोड ३० लाख भारु मूल्य बराबरको महँगो कारसहित प्रशस्त सुन र चाँदीका उपहार प्राप्त गरेको छ । यद्यपि, विधायक सिंहले विवाहको कुल खर्चबारे आधिकारिक विवरण सार्वजनिक गरेका छैनन् ।

भारतका सबैभन्दा विपन्न राज्यहरूमध्ये एक मानिने बिहारमा आयोजित यस प्रकारको अत्यधिक खर्चिलो विवाहलाई भारतीय मिडियाले ‘शाही विवाह’ को संज्ञा दिएका छन् । कतिपयले सन् २०२४ मा भारतीय अर्बपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा भएको तडकभडकसँग समेत यसको तुलना गरेका छन् ।

समारोहका भिडियोहरू सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा यसको तीव्र आलोचना सुरु भएको छ । बिहार विधान परिषद्का सदस्य एवं सिंहका राजनीतिक प्रतिद्वन्द्वी नीरज कुमारले विवाहमा भएको अथाह खर्च र त्यसको आम्दानीको स्रोतमाथि छानबिन हुनुपर्ने माग उठाएका छन् । वरिष्ठ पत्रकार गार्गी रावतसहितका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अतिथिलाई भोजन गराउनु सत्कार र उदारताको विषय हुनुपर्नेमा यसलाई धन र शक्तिको भद्दा प्रदर्शन बनाइएको भन्दै असन्तुष्टि पोखेका छन् ।

यो विवाह यतिधेरै चर्चामा आउनुको पछाडि बेहुलीका पिता अनन्त सिंहको विवादास्पद राजनीतिक छवि पनि मुख्य कारण हो । स्थानीय स्तरमा ‘छोटे सरकार’ उपनामले चिनिने सिंह बिहारका एक शक्तिशाली ‘बाहुबली’ नेता मानिन्छन् । सन् २००५ मा पहिलोपटक मोकामाबाट विधानसभा सदस्य निर्वाचित भएका उनले सन् २०१०, २०१५, २०२० र २०२५ का निर्वाचनमा समेत लगातार जित निकाल्दै आएका छन् ।

गत वर्षको निर्वाचनका क्रममा निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा सिंहले आफ्नो र श्रीमतीको नाममा करिब एक अर्ब भारु बराबरको कुल सम्पत्ति रहेको उल्लेख गरेका थिए । सोही शपथपत्रमा उनले आफूविरुद्ध हत्या, हत्या प्रयास, जबर्जस्ती चन्दा असुली र दङ्गा भड्काएको जस्ता दुई दर्जनभन्दा बढी गम्भीर आपराधिक मुद्दा विचाराधीन रहेको स्वीकार गरेका थिए ।

सन् २०१९ मा उनको निवासबाट एके–४७ राइफलसहितका अवैध हातहतियार र गोलीगठ्ठा बरामद भएको मुद्दामा अदालतले सन् २०२२ मा उनलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको थियो । सोही कारण उनको विधानसभा सदस्यतासमेत खारेज भएको थियो । पछि धरौटीमा रिहा भएर फैसलाविरुद्ध पुनरावेदन गरेका सिंह गत वर्षको चुनाव जितेर पुनः संसद् फर्किएका हुन् । गत वर्षकै निर्वाचनका बेला भएको एक हत्या प्रकरणमा मुख्य संदिग्धका रूपमा तीन महिना जेल बसिसकेका सिंहलाई भारतको सर्वोच्च अदालतले आगामी डिसेम्बर १ भित्र आत्मसमर्पण गर्न आदेश दिएको छ, जसलाई पालना गर्ने उनले बताउँदै आएका छन् ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)