हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सेवाग्राही बनेर यातायात व्यवस्था कार्यालयको छड्के जाँच गरे मन्त्री रेशमबहादुरले

गण्डकी, ११ साउन गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आज पोखरास्थित यातायात व्यवस्था कार्यालयको छड्के जाँच गर्नुभएको छ ।

Advertisement

सेवाग्राही सरह कार्यालय पुग्नुभएका मन्त्री जुग्जालीले सवारी चालक अनुमतिपत्र र सवारीसाधन दर्ता तथा नवीकरणसम्बन्धी सेवा दिने कार्यालयको गोप्य अनुमगन गर्नुभएको थियो ।

Advertisement

सेवाग्राहीसँगै लाममा उभिएर उहाँले कार्यालयको सेवा प्रवाहका सम्बन्धमा गुनासा र सुझाव सुन्नुभएको थियो । मन्त्रीले जुग्जालीले सवारी चालक अनुमपतिपत्रको ‘ट्रायल सेन्टर’को पनि अनुगमन गर्नुभएको थियो । मन्त्रीसमक्ष सेवाग्राहीले कार्यालयको सेवा लिन लामो समय लाममा उभिनुपर्ने समस्या कम हुँदै गएको प्रतिक्रिया दिएका थिए । कार्यालयले बिहान ८ः०० बजेदेखि नै सेवा दिन थालेपछि सेवा प्रवाह छिटो–छरितो बन्दै गएको छ ।

सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमतिपत्रको नवीकरणका लागि अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाइएको छ । कार्यालयको सेवाप्रति सेवाग्राहीको धारणा बुझ्न र समस्या तथा सुधारका पक्ष पहिचानका लागि आकस्मिक अनुगमन गरेको मन्त्री जुग्जालीले बताउनुभयो ।

सो क्रममा कार्यालय प्रमुख तथा कर्मचारीले छरितो र सहजरूपमा सेवा उपलब्ध गराउन हरसम्भव प्रयास गरिएको मन्त्रीसमक्ष बताएका थिए । सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमै दरबन्दीअनुसारको कर्मचारी नहुँदा केही समस्या भएको उनीहरूको गुनासो थियो ।

मन्त्री जुग्जालीले जनशक्ति व्यवस्थापनसँगै पोखराको ‘ट्रायल सेन्टर’मा देखिएको सेवाग्राहीको चाप घटाउन छिट्टै बागलुङबाट पनि गाडीको सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले यसअघि गत जेठमा पनि यातायात व्यवस्था कार्यालयको छड्के जाँच गर्नुभएको थियो ।

यातायात व्यवस्था कार्यालयको सेवा चुस्त र प्रभावकारी बनाउन मन्त्री जुग्जालीले मन्त्रालयको जिम्मेवारीमा आएको सुरुदेखि नै पहल लिनुभएको थियो । कार्यालयले बिहानी सेवा पनि सुरु गरेपछि अहिले सेवा प्रवाह थप प्रभावकारी बनेको छ ।

राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’को लिखित र प्रयोगात्मक परीक्षासमेत बिहान ८ः०० बजेदेखि नै सुरु हुन्छ । जसले गर्दा कार्यालयमा हुने भीडभाड घटेको छ । कर्मचारीले सहज र छरितो ढङ्गले सेवा दिन पाएका छन् । दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले गत जेठदेखि बिहानी सेवा सुरु गरेको थियो ।

बिहानी सेवा सुरु भएपपछि अहिले करिब ३० प्रतिशत सेवाग्राहीले १०ः०० बजेअघि नै सेवा लिइसक्ने कार्यालयले जनाएको छ । घन्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ । मन्त्री जुग्जालीले यातायातसम्बन्धी सेवाका लागि कार्यालय धाइरहन नपर्ने स्थितिको सिर्जनाका लागि आफूहरू लागिपरेको बताउनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)