‘म आजका नेता बालेन होइन, हिजोका उम्मेदवार बालेन खोज्न यहाँ आएको हुँ’ भन्दै ६ दिनदेखि उभिएर बालेनलाई बाचा सम्झाइरहेका ईः
आइतबार बिहान एक हुल कर्मीहरू राष्ट्रिय सभागृहको मूलगेट रंग्याउने ध्याउन्नमा थिए। कोही गेटको धूलो झार्दै थिए, कोही रङरोगन गर्दै थिए।

राष्ट्रिय सभागृह सिँगारपटार गर्न भ्याइनभ्याइ भइरहँदा त्यसैको आडमा सामाजिक अभियन्ता ईः गत मंगलबार दिउँसो १ बजेदेखि अविश्राम उभिइरहेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई चुनावी बाचापत्र सम्झाउन ‘सौम्य विद्रोह’ थालेको बताउने ई:ले शुक्रबार साँझसम्म ७७ घन्टा उभिने निधो गरेका थिए।

तर काठमाडौं महानगरपालिकाको नेतृत्वको कानमा बतास नलागेपछि उनको आन्दोलन लम्बिएको छ।
उनले सुरूमा आफ्नो शालीन विद्रोह ४६ घन्टा लम्ब्याएका थिए। यसबीच काठमाडौं महानगरले ई:सँग वार्ता गर्छु भने पनि सुरू भएन। त्यसपछि ई:ले आन्दोलन लम्ब्याएर १९९ घन्टा पुर्याएको बताएका छन्।
छ दिनदेखि लगातार उभिँदा ईःका खुट्टा सुन्निएर डम्डम्ती भएका छन्। सुम्ला उठेजसरी पिडुँला फुलेका छन्। उठिराखेर विद्रोहको अनौठो शंखनाद गरेका उनलाई अब बस्नसमेत गाह्रो हुने गरी कम्मर कटकटी खान थालेको छ। रक्तसञ्चारमा गडबडी भएपछि पैतालाहरू सहनै नसक्ने गरी झमझमाउन थालेका छन्।
उनको अनुहारमा थकानका धब्बा भने भेटिँदैनन्। अनुहारमा विद्रोहको फिलिंगो उस्तै गरी जगमगाइरहेको छ।
बाह्र वर्षदेखि कुनै न कुनै रूपले विद्रोहमा सामेल ई: विद्रोहको नयाँ विम्ब बनिसकेका छन्। सीमान्तकृतहरूको आवाज नयाँ ढंगले उद्घाटित गर्ने, पृथक र रचनात्मक विद्रोहको बाटो अँगाल्ने उनको बेग्लै परिचय स्थापित भइसकेको छ। त्यसैले उनको आन्दोलनमा समर्थन जनाउने, गेटको सम्मुख पेटीमा ओछ्याइएको तुलमा हस्ताक्षर गर्ने र मौन साथ दिनेहरू दिनदिनै बढिरहेका छन्।
फुटपाथ व्यापारी तथा महानगरको ज्यादतीबाट उठिबास लागेका दीनहीनको मात्र होइन, बुद्धिजीवी, पेसाकर्मीहरूको पनि समर्थन थपिँदै गएको छ।
‘पाँच दिनसम्म प्रवीण र सौरभ उभिनुभयो। फुटपाथबाट विस्थापित भएर रोजीरोटी गुमाएकाहरू पनि समूह समूहमा आउनुहुन्छ, ऐक्यबद्धता जनाउनुहुन्छ,’ ईःले भने, ‘यसले रोजीरोटी खोसिएका दीनहीनहरूको आवाजको घनत्व बढ्दै गएको महसुस हुन्छ। अनि म आफ्नो सारा थकान, पीडा र ताडना भुल्छु। अझ दृढ आत्मविश्वास लिएर विद्रोहमा खुट्टा दह्रो पार्छु।’
महानगर प्रहरीहरूबाट प्रताडित सडक व्यापारीका पक्षमा आवाज उठाउँदै आएका ई: सत्ताको कुर्सीमा बसेकाहरूले आयआर्जनको अवसर निकाल्न नसक्दा सडकमा आश्रितहरू बढेको बताउँछन्।
‘सडकमा कोही रहरले आइपुग्दैन। हुने खानेहरूलाई सडकको किनारमा हाड घोटेर सीमान्त जीवन बिताउने रहर पनि हुँदैन। शासकीय अकर्मण्यता र पुस्तैनी गरिबीको दुष्चक्रमा फसेका विपन्नहरू सडकपेटीमा आश्रय लिन आइपुग्छन्। फुटपाथलाई जीवन गुजाराको माध्यम बनाउँछन्,’ उनले भने।
काठमाडौं महानगरपालिकाले भने ती सडक व्यापारीलाई सधैं आफ्नो वैरी ठान्यो। तिनले ऋण काढेर किनेका ठेलागाढा, खर्पन, साइकल जफ्त गरिदियो। यसले विपन्न परिवारको उठिबास लागेको छ। कतिपय सडकमा हात थाप्ने अवस्थामा पुगेका छन्। कति महँगो ऋण काढेर विदेश जान अभिशप्त छन्।
‘हुँदा खाने विपन्न परिवारको तुलनामा मेरो पीडा केही पनि होइन,’ दर्द लुकाउँदै ईःले भने, ‘गरिखाने वर्गमाथिको अन्याय, अत्याचार र ज्यादतीविरूद्ध सामाजिक सञ्जालमा टिप्पणी, आलोचना गर्दै बसिराखेको थिएँ। त्यसो गर्दा म भित्रैभित्रै निसास्सिएको पनि थिएँ। अहिले त्यो उकुसमुकुस पोख्न पाएँ।’
फुटपाथ व्यवसायीमाथि काठमाडौं महानगरपालिका आक्रामक बन्दा उनको चित्त थामिनसक्नु गरी फाटिएकै छ, त्योभन्दा बढ्ता पिरलो समाजले क्रूरता पचाउन सक्ने भएकोमा छ।
‘हामी कहिलेदेखि यस्तो क्रूर भयौं? हाम्रो समाज त गरिब, बटुवालाई बाटोमा देख्यो भने पेटभर खुवाएर पठाउने, बेखर्ची फेला पर्यो भने खर्चबर्च दिएर पठाउने मनकारी हो,’ उनले भने, ‘विपन्नहरूमाथि यत्रो ज्यादती भइरहेको छ। अपराध भइरहेको छ। सबै मुख बाँधेर बसेका छन्। कोही बोल्दैनन्। त्यो पीडाले नै मलाई असाध्यै गाह्रो बनाएको हो। त्यो पीडाको तुलनामा खुट्टा सुन्निएको पीडा केही पनि होइन।’
काठमाडौं महानगरपालिकाको मौजुदा नेतृत्वले मानवीय भावना र मूल्य–मान्यता भुलेर विपन्न वर्गको वस्तुकरण गरेको ईःको बुझाइ छ। साभार : सेताेपाटी