समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

चट्याङको कहर: पाँच जिल्लामा ५ को मृत्यु, १६ घाइते

पछिल्लो २४ घण्टाको अवधिमा चट्याङका कारण देशभर पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न पाँच जिल्लामा चट्याङ लागेर पाँच जनाले ज्यान गुमाएका हुन् ।

Advertisement

झापा जिल्लाको गौरादह नगरपालिका–५ बालुबथानमा ५४ वर्षीय एक पुरुषको चट्याङ लागेर मृत्यु भएको छ । उता, मोरङको कानेपोखरी गाउँपालिका–१ मा १२ वर्षीय एक बालकले ज्यान गुमाएका छन् । धनुषाको नगराइन नगरपालिका–८ अकौरामा खेतमा काम गरिरहेकी ६० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

Advertisement

डोटीको सायल गाउँपालिका–६ दल्लेखमा ३३ वर्षीया महिलाको पनि चट्याङ लागेर मृत्यु भएको छ । घटनास्थलमा सात जना घाइते भएका छन् । बझाङको बित्थडचिर गाउँपालिका–३ मा ७८ वर्षीया वृद्धाको ज्यान गएको छ भने सोही घटनामा दुई जना बालिका घाइते भएका छन् ।

यसैबीच, अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण विभिन्न भौतिक संरचनामा पनि क्षति पुगेको छ । कालिकोटको रास्कोट नगरपालिका–६ मा लेदो सहितको पानी घरमा पस्दा घरमा क्षति पुगेको छ ।

सल्यानको कपुरकोट गाउँपालिका–३ को चोरखोलास्थित राप्ती राजमार्गमा पहिरोले सडक अवरुद्ध बनाएको छ भने कालिकोटको सुर्खेत–हुम्ला सडकसमेत अवरुद्ध भएको छ ।

विपद्का घटनामा परी हालसम्म १६ जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ । मौसममा अस्थिरता रहेकोले सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article