स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

उदयपुरमा ७८ जनामध्ये ७३ जनाको रिपोर्ट नेगेटिभ

  कोरोना सङ्क्रमणको केन्द्र बिन्दु बनेको उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केसहित जिल्लाका आठ खतरायुक्त स्थानमध्ये दुई स्थान चौदण्डी नगरपालिकाको सिवाइ र त्रियुगा नगरपालिकाको मोतीगडाको नमूना स्वाब सङ्कलनमा ७८ जनामध्ये ७३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी पाँचको आउन बाँकी छ ।

Advertisement

स्वास्थ्य कार्यालयका अनुसार तीन दिनअघि मात्र प्रदेश नं १ जनस्वास्थ्य प्रयोगशाला विभागबाट प्रदेशका सामाजिक विकासमन्त्री जीवकुमार घिमिरेको प्रत्यक्ष उपस्थितिमा उदयपुरको चौदण्डी नगरपालिकाको सिवाइमा ५८ जना र त्रियुगा नगरपालिकाको मोतीगडमा २० जना व्यक्तिको नमूना स्वाब सङ्कलन गरेर परीक्षणका लागि विराटनगर लगिएको थियो ।

Advertisement

आज बिहानसम्मको रिपोर्टअनुसार दुवै क्षेत्रका ७८ व्यक्तिमध्ये ७३ को रिपोर्ट नेगेटिभ आएको र बाँकी पाँच जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो । बाँकी पाँच जनाको पनि रिपोर्ट नेगेटिभ नै आउन सक्ने अवस्था रहेका कारण अब उदयपुरको सिवाइ र मोतीगडा खतरायुक्त स्थानमा राखिएको भए पनि सो दुई स्थानको अवस्था सामान्यतिर गएको प्रमुख सुवेदीले बताउनुभयो ।

भुल्केसहित जिल्लामा आठ स्थान कोरोनाको खतरायुक्त स्थानका रुपमा राखिएकामा अब सिवाइ र मोतीगडा क्षेत्रमा खतरा अवस्था नरहेको रिपोर्टले देखाएको पनि स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो । अब जिल्लाको त्रियुगाको मोथ्याइ, खैजनपुर, जोगिदह देउरी र जलजलेसहितका स्थान खतरायुक्त सूचीमा राखिएका कारण सो स्थानमा स्वाब नमूना सङ्कलन गर्ने तयारी गरिएको पनि स्वास्थ्य कार्यलयले बताएको छ ।

भुल्केमा मात्र २८ जनामा कोरोना सङ्क्रमणको अवस्था भेटिएपछि भुल्केका स्थानीयसँगै आवतजावत गर्ने स्थान मोतीगडा, सिवाइ, मोथ्याइ, जोगीदह, देउरी र जलजले क्षेत्रलाई स्वास्थ्य कार्यालयले खतरायुक्त स्थानको सूचीमा राखेको जनाएको छ । अहिले पनि भुल्केसहित जिल्लाका यी स्थानमा दैनिक प्रहरी तथा सुरक्षाकर्मीले रेखदेख गर्ने र निगरानीमा राखेर स्थानीयवासीलाई अन्यत्र हिँडडुल गर्न नदिएको तथा अन्यत्रबाट पनि यी स्थानमा प्रवेशमा रोक लगाइएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताउनुभयो ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article