सयौं पुराण उद्घाटन गरें, सयौं कथा सुन्न पाएँ
अहो भाग्य भन्नै पर्यो, आफैँलाई मैले
तर धर्म संस्कृतिको महिमा, पाइनँ कथामा
मन खिन्न भयो, खोज्दै हिँडें म
तुलसीको महिमा कहाँ गयो ?
साँझ बिहान तुलसी दल चढाउने
संखको धुनि कहाँ हरायो ?
घर घरमा मंगल ध्वनि बजाउने
गायत्री मन्त्रको महत्व त आएन
जपले बुद्धि शुद्ध हुने कथा आएन
जनै किन लाउने ? किन हो यज्ञोपवीत ?
तीन डोराको अर्थ कसैले बुझाएन
पञ्चकव्य के हो ? पञ्चामृत के हो ?
शुद्धिको विज्ञान कसैले बताएन
गौमाताको कथा लेखिएन किन ?
जसको मलमूत्रमै पनि औषधि पाइन्छ
वर पिपलको सुगन्ध पाइएन
जसको छहारीमा देवता बास गर्छन्
पिपलको हावाले प्राण दिन्छ भन्ने
कसैले मलाई सुनाएन
चिता कति तला ? सुन पाइनँ मैले
दागबत्ती किन दिने ? अर्थ बुझिनँ मैले
मृत्युपछि पनि संस्कार हुन्छ भन्ने
शास्त्रको गहिराइ कसैले खोलेन
पुराण त सुनियो, कथा त सुनियो
तर संस्कारको जरा भेटिएन
धर्म त भनियो, कर्म त भनियो
तर शास्त्रीय महत्व पाइएन
अब त खोज्नुछ, बुझ्नुछ, बुझाउनुछ
तुलसीदेखि गौमातासम्मको महिमा
वर पिपलदेखि दागबत्तीसम्मको अर्थ
नयाँ पुस्तालाई सिकाउनुछ, जगाउनुछ ।
इन्द्र प्रसाद ओली
अध्यक्ष
चेतना नेपाल केन्द्रीय कार्यालय विर्तामोड ४ झापा
चेतना साहित्य समाज
