समाचार
हल्दिबारी संवाददाता ४ घण्टा अगाडि

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको नयाँ कार्यसमितिको पदस्थापन सम्पन्न

इटहरी (सुनसरी), ५ मंसिर । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल, सुनसरी शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

​युवा विकास केन्द्रमा आयोजित विशेष समारोहका बीच गुरु ढकालको अध्यक्षतामा सर्वसम्मत चयन भएको तीन वर्षे कार्यसमितिको पदस्थापन गरिएको हो । संस्थाका कानुनी सल्लाहकार एवं निर्वाचन समितिका संयोजक विकल रेग्मीको अध्यक्षता तथा कोशी प्रदेशका प्रेस रजिस्ट्रार एवं कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक लीलाराज भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

​प्रमुख अतिथि भट्टराईले क्यामेराको बटन क्लिक गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने निर्वाचन संयोजक रेग्मीले नवनिर्वाचित समितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा प्रमुख अतिथि लगायतका अतिथिहरूले नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै रुद्राक्षको माला र अबिर लगाएर सम्मान गर्नुभएको थियो ।

​नवनिर्वाचित कार्यसमिति:

निर्वाचन समितिले घोषणा गरेअनुसार आगामी तीन वर्षे कार्यकालका लागि गठित कार्यसमितिको विवरण यसप्रकार छ:

  • ​अध्यक्ष: गुरु ढकाल
  • ​उपाध्यक्ष: खेमराज श्रेष्ठ
  • ​सचिव: केशव सिग्देल (पवन)
  • ​कोषाध्यक्ष: दिनेश श्रेष्ठ
  • ​सदस्यहरू: मिलन अधिकारी, सञ्जीव तिम्सिना र दोलराज तिम्सिना

​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले फोटोबिनाको समाचार अधुरो हुने उल्लेख गर्दै फोटो पत्रकारिताको महत्त्वमाथि प्रकाश पार्नुभयो । उहाँले कोशी प्रदेशभित्रका फोटो पत्रकारहरूको दक्षता अभिवृद्धिका लागि प्रविधिमैत्री तालिमको व्यवस्था गर्न र सुनसरी शाखाले अघि सार्ने रचनात्मक योजनाहरूमा प्रतिष्ठानका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

​कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष सुमन पुरी, सञ्चारकर्मी एवं पर्यटन व्यवसायी रविन गौतम, राष्ट्रिय फोटो पत्रकार समूह झापाका अध्यक्ष नेत्रविक्रम बिमली लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

​सोही अवसरमा नवनियुक्त अध्यक्ष गुरु ढकालले फोटो पत्रकारहरूको व्यावसायिक क्षमता विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले आगामी तीन वर्षभित्र सुनसरी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको पहिचान गरी तस्बिरमार्फत राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र सुनसरी शाखालाई देशकै उत्कृष्ट शाखाका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

​कार्यक्रममा उपाध्यक्ष खेमराज श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चारकर्मी भूमिका विश्वकर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)