समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

हल्दीबारीका तीन विद्यालयमा गोदावारी एल्मुनाईद्वारा विद्यार्थी पोशाक वितरण

झापा । गोदावारी एल्मुनाई एसोसिएसनले झापाको हल्दीबारी गाउँपालिकाका तीन सामुदायिक विद्यालयका विद्यार्थीलाई जाडोयाम लक्षित पोशाक वितरण गरेको छ। वडा नम्बर ३ स्थित लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीलाई पोशाक हस्तान्तरण गरिएको हो।
संस्थाले श्री पञ्चायत माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय र दिपेन्द्र आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक उपलब्ध गराएको हो। पाँच लाख रुपैयाँभन्दा बढीको लागतमा गरिएको कार्यक्रममा लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु तामाङको अध्यक्षता रहेको थियो भने गोदावारी एल्मुनाई एसोसिएसनका अध्यक्ष प्रकाश बाबु केसी प्रमुख वक्ताका रूपमा सहभागी थिए।
कार्यक्रममा संस्थाका कार्यकारी सदस्यहरू निर्मल कृष्ण श्रेष्ठ, सिकन्दर सिंह थापा, आयुष श्रेष्ठ, आयुष अधिकारी र विनोद दाहाल, शिक्षक–अभिभावक संघकी अध्यक्ष सुनिता महत्वलगायत तीनवटै विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता थियो।
कार्यक्रममा बोल्दै हल्दीबारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष विष्णुप्रसाद ओलीले जाडोयाममा विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर पोशाक वितरण गरिएकोमा संस्थाप्रति धन्यवाद व्यक्त गरे। साथै उनले गाउँपालिकामा सञ्चालन भइरहेको हात्तीपाइले रोग नियन्त्रणसम्बन्धी औषधि सेवन कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरे।
लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरेले विभिन्न कारणले विद्यार्थी नियमित रूपमा विद्यालय आउन नसक्ने अवस्था रहेको उल्लेख गर्दै पोशाक वितरणले विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
संस्थाले श्री पञ्चायत माध्यमिक विद्यालयलाई १२० सेट, दिपेन्द्र आधारभूत विद्यालयलाई १०० सेट र लक्ष्मी माध्यमिक विद्यालयलाई २०५ सेट विद्यार्थी पोशाक हस्तान्तरण गरेको जनाएको छ। पोशाक प्राप्त विद्यालयहरूले संस्थालाई मायाको चिनो, प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए।
कार्यक्रममा दिपेन्द्र आधारभूत विद्यालयका विद्यार्थीले नृत्य तथा लक्ष्मी माध्यमिक विद्यालयकी छात्रा सुशीला हस्ताले गायन प्रस्तुति दिएकी थिइन्। उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य सहायक प्रधानाध्यापक मदन पोख्रेलले राखेका थिए भने सञ्चालन शिक्षक बोतकृष्ण पौडेलले गरेका थिए।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article