नयाँ दिल्ली । नेपाल र भारतबीचको द्विपक्षीय आर्थिक साझेदारी र लगानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ भारतको नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ (नेपाल–इन्डिया बिजनेस फोरम) सम्पन्न भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न मञ्चमा दुवै देशका उच्च सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सुशासन र आर्थिक सुधारमार्फत दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताए। नेपालमा ऊर्जा, पर्यटन, कृषि, उत्पादन र डिजिटल अर्थतन्त्रमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै उनले भारतीय लगानीकर्तालाई नेपाली निजी क्षेत्रसँग सहकार्य गरी उत्पादन तथा रोजगारीमूलक उद्योगमा लगानी विस्तार गर्न आग्रह गरे। यातायात र सूचना प्रविधिको क्षेत्रमा भारतले हासिल गरेको सफलताबाट सिकेर सहकार्य गर्न नेपाल इच्छुक रहेको उनको भनाइ थियो।

सोही अवसरमा भारत सरकारका वाणिज्य तथा उद्योग एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसादले पर्यटन, ऊर्जा, व्यापार र लगानी लगायतका पारस्परिक लाभका क्षेत्रमा साझेदारी अभिवृद्धि गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।
मञ्चमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, भारतीय उद्योग महासंघ (सीआईआई) का उपाध्यक्ष विक्रमजित सिंह सहनी, लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्ग्की युक्याव शेर्पा लगायत दुवै देशका उद्योगी–व्यवसायीहरूले आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रममा द्विपक्षीय सहकार्य र आर्थिक साझेदारी बढाउने उद्देश्यले विभिन्न समझदारी पत्र (एमओयू) मा समेत हस्ताक्षर भएको छ।
