समाचार
हल्दिबारी संवाददाता २५ मिनेट अगाडि

हल्दिबारीको देउनिया घाटमा विष्ट परिवारद्वारा मलामी घर निर्माण

​हल्दिबारी (झापा) — हल्दिबारी गाउँपालिका–२ स्थित पारखोपी पूर्व देउनिया खोला किनारको विश्रान्ति घाटमा निर्माण गरिएको मलामी घर आज वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ। स्वर्गीय भक्तबहादुर खड्काका दिवङ्गत सन्तान तथा परिवारजनको स्मृतिमा करिब ६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त ‘विश्रान्ति घाट आश्रयस्थल’ (मलामी घर) सार्वजनिक प्रयोगका लागि वडालाई हस्तान्तरण गरिएको हो।

​हल्दिबारी निवासी स्व. कौशिला बस्नेत, स्व. हस्तबहादुर बस्नेत, अमेरिका निवासी स्व. चन्द्रमाया विष्ट र हल्दिबारी निवासी स्व. खड्गबहादुर खड्काको स्मृतिमा आश्रयस्थल तयार पारिएको हो।

​अमेरिकाको टेनेसी निवासी साहिँला ज्वाइँ भीमबहादुर विष्ट तथा स्व. चन्द्रमाया विष्टका छोराहरू रोम विष्ट, वीरेन विष्ट, ललित विष्ट, मदन विष्ट, बुहारीहरू अनिता, गोमा, तिला र चम्पा विष्ट तथा छोरीहरू कविता बानियाँ र बबिता बस्नेतको मुख्य आर्थिक सहयोगमा संरचना निर्माण गरिएको जनाइएको छ। निर्माणमा स्वदेशमा रहेका आफन्तजनले समन्वय, सहकार्य र श्रम समर्पण गरेका थिए।

​कार्यक्रमका प्रमुख अतिथि वडा नं. २ का वडाध्यक्ष शुकलाल राजवंशीले उक्त मलामी घर वडाको मातहतमा रहने जिम्मेवारी लिँदै दाता परिवारप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे। परदेशमा रहेर पनि गाउँठाउँ र दिवङ्गत पितृको सम्झनामा अत्यावश्यक सार्वजनिक पूर्वाधार निर्माण गरिदिएकोमा उनले प्रशंसा गरे। साथै, छिट्टै नै वडाको समन्वयमा देउनिया खोला घाट व्यवस्थापन समिति गठन गरिने वडाध्यक्ष राजवंशीले बताए।

​कार्यक्रममा वडा नं. २ का सदस्यहरू विष्णुबहादुर राई र गणेश मगर, वडा नं. ३ का सदस्य अजित विष्ट, भेलागढी सामुदायिक वन उपभोक्ता समितिका सचिव खकेन राजवंशी, स्थानीय बासिन्दा, सञ्चारकर्मी र आफन्तजनको उपस्थिति थियो। ओमबहादुर बस्नेत, कृष्णबहादुर बस्नेत र दाता परिवारका मदन विष्टले दिवङ्गत सदस्यको सम्झनालाई समाजोपयोगी बनाउन आश्रयस्थल निर्माण गरिएको बताए। कार्यक्रम अभिषेक खतिवडाले सञ्चालन गरेका थिए।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)