हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

हल्दीबारीका ३५० भन्दा बढी किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप

झापा, माघ २१ — झापाको हल्दीबारी गाउँपालिकामा ३५० भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ। विद्यालय केन्द्रित एचपिभी खोप सञ्चालन तथा पूर्णखोप सुनिश्चितता दिगोपना कार्यक्रमअन्तर्गत गाउँपालिकाले यस वर्ष उक्त खोप अभियान सञ्चालन गर्न लागेको हो।
गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिंगदेनको अध्यक्षतामा बुधबार सम्पन्न समीक्षा तथा अभिमुखीकरण कार्यक्रममा यसबारे जानकारी दिइएको हो। पालिकाको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार माघ २५ गतेदेखि गाउँपालिका भित्रका निजी तथा सामुदायिक विद्यालयमा पुगेर कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ।
गत वर्षको अभियानमा छुटेका लक्षित उमेर समूहका किशोरीलाई समेत यस वर्ष अनिवार्य रूपमा खोप लगाइने उनले बताए। “प्रत्येक विद्यालयबाट खोप छुटेका किशोरीको नाम संकलन भइसकेको छ,” निरौलाले भने।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लिंगदेनले अभियानको प्रभावकारी प्रचार–प्रसार र समन्वयमा सबै जनप्रतिनिधिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै उनले लक्षित वर्गका किशोरीलाई व्यवस्थित रूपमा खोप सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
गाउँपालिकाले एचपिभी खोप सञ्चालनसम्बन्धी पालिकास्तरीय अभिमुखीकरण गोष्ठी बिहीबार आयोजना गरेको हो। गोष्ठीमा जनप्रतिनिधि, पाँचै वडाका स्वास्थ्य चौकी प्रमुख, पालिकाका विभिन्न शाखा प्रमुखलगायतको सहभागिता रहेको थियो।
गाउँपालिकाका अनुसार कक्षा ६ मा अध्ययनरत किशोरीका साथै विद्यालय जानबाट वञ्चित किशोरीलाई समेत खोप अनिवार्य रूपमा लगाइनेछ। खोप अभियानका लागि पालिकाभर २१ वटा विद्यालय र ६ वटा स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकिएको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)