समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

पञ्चायत मा.वि.को ३८औँ वार्षिक उत्सव सम्पन्न: उत्कृष्ट शिक्षकदेखि जग्गादातासम्म सम्मानित

हल्दीबारी। पञ्चायत माध्यमिक विद्यालयको ३८औँ वार्षिक उत्सव समारोह तथा सम्मान कार्यक्रम आज एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

Advertisement


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जनककुमारी राई, विद्यालयका जग्गादाता जग्लु मेचे, वडा नम्बर ३ की सदस्य विष्णुमाया तिम्सिना ढुङ्गेल, शिक्षाप्रेमी नरेन्द्रकुमार कार्की, ओमप्रसाद मिश्र, संस्थापक प्रधानाध्यापक प्रेमप्रसाद भट्टराई, पूर्व प्रधानाध्यापक कृष्णप्रसाद वन, सामुदायिक वनका अध्यक्ष नरप्रसाद मेयाङ्वो ,विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, सामाजिक अभियन्ता, अक्षयकोषदाता, पूर्व विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement


विद्यालयले वार्षिक उत्सवको अवसरमा जग्गादाता, संस्थापक अध्यक्ष, शिक्षाप्रेमी, पूर्व प्रधानाध्यापक, संस्थापक सदस्य, विद्यालयको विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई प्रमाणपत्र र दोसल्ला प्रदान गरी सम्मान गरेको थियो। साथै शिक्षक रमेश भण्डारीलाई २०८१ सालको “उत्कृष्ट शिक्षक” को रूपमा सम्मान गरिएको थियो।
यसै अवसरमा राष्ट्रपति रनिङ सिल प्रतियोगितामा सहभागी हुने उत्कृष्ट विद्यार्थीहरूलाई मेडल प्रदान गरिएको थियो। नियमित अध्ययनमा उत्कृष्ट चार आमाहरू:मन्दिरा खवास, अस्मिता म्याङ्वो, मिरा भट्टराई र बसन्ती लिम्बु लाई पनि विशेष सम्मान गरिएको थियो।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक टंकबहादुर पाख्रिनले सामुदायिक विद्यालयको समग्र विकासका लागि सबै सरोकारवालालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको थियो।


कार्यक्रममा चौकीबिरान सामुदायिक वन उपभोक्ता समूहले ११ जना विद्यार्थीलाई वार्षिक छात्रवृत्तिस्वरूप कपडा तथा शैक्षिक सामग्री वितरण गरेको थियो भने पूर्व विद्यार्थी विपना काफ्लेले कक्षा ६ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको थियो। त्यस्तै GBO नेपालले विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाएको छ।


सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले मारुनी, संगिनी तथा विभिन्न जातीय नृत्य प्रस्तुत गरी दर्शकको मन जितेका थिए। पूर्व विद्यार्थी सुशीला हस्दा र विद्यार्थी आरती थामीले गायन प्रस्तुत गरेका थिए भने शिक्षिका रुमा डाँगीले देशभक्तिपूर्ण गीतमार्फत कार्यक्रमलाई थप रोचक बनाउनु भएको थियो।


प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले विद्यालयको उन्नति–प्रगतिप्रति खुसी व्यक्त गर्दै सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। प्रमुख अतिथि अध्यक्ष लिङ्देनले विद्यार्थी संख्या भन्दा गुणस्तरीय शिक्षा महत्त्वपूर्ण हुने उल्लेख गर्दै विद्यालयलाई आगामी दिनमा उत्कृष्ट नतिजासहित अगाडि बढ्न शुभकामना व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा स्वागत मन्तव्य तथा वार्षिक प्रतिवेदन प्रधानाध्यापक डिल्लीराम ढुङ्गेलले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन तथा सहजीकरण शिक्षक अभिषेक खतिवडाले गर्नुभएको थियो। वार्षिक उत्सव समारोहले विद्यालय, अभिभावक, शिक्षक र समुदायबीच सहकार्य, सम्मान र प्रतिबद्धताको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article