दमक, झापा । झापाको दमकमा जेन्जी (Gen-Z) आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियार ६ महिनापछि फेला परेको छ। गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको ‘मार्क-४’ (Mark 4) राइफल बिहीबार साँझ प्रहरीकै टोलीले फेला पारेको हो।

इलाका प्रहरी कार्यालय दमकबाट करिब २० मिटर उत्तर-पूर्वतर्फ थाना रोडमा रहेको स्थानीय याम्जि श्रेष्ठको खाली जग्गाको झाडीमा उक्त हतियार फेला परेको प्रहरीले जनाएको छ। नियमित गस्तीमा खटिएको प्रहरी टोलीले बेलुका ७:३० बजेको समयमा शंकास्पद वस्तु देखेपछि जाँच गर्दा Y13487 नम्बरको राइफल फेला पारेको थियो। फेला परेको हतियारको काठको भाग पूर्ण रूपमा जलेको र फलामको सम्पूर्ण भागमा खिया लागेको अवस्थामा रहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान र अभिलेख भिडान गर्दा उक्त हतियार जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीले प्रहरी कार्यालयबाटै लुटेको पुष्टि भएको छ। लुटिएको लामो समयपछि कार्यालयकै आसपासको झाडीमा बेवारिसे अवस्थामा भेटिएको उक्त राइफललाई नियन्त्रणमा लिई हाल इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
