समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

सरस्वती आधारभूत विद्यालयको ६६औँ वार्षिकोत्सव सम्पन्न: दाता, शिक्षक र अभिभावक सम्मानित

झापा । झापाको हल्दीबारीमा रहेको सरस्वती आधारभूत विद्यालयले आफ्नो स्थापनाको ६६औँ वार्षिकोत्सव एक विशेष समारोहका बीच भव्य रूपमा मनाएको छ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि छवि चुडालले ब्यानर वाचन गर्दै समारोहको समुद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि चुडालले शिक्षा मानव जीवनको आधार स्तम्भ भएको र वर्तमान समाजको रूपान्तरणमा शिक्षा क्षेत्रको विकासले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले शिक्षाको गुणस्तर सुधारका लागि संस्थागत र सामुदायिक विद्यालयहरूबीच आपसी हार्दिकता र सहकार्य हुनुपर्नेमा विशेष जोड दिनुभयो।

Advertisement

​वार्षिकोत्सवको अवसरमा विद्यालयको विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। विद्यालयका दाता परिवारहरू प्रकाश चन्द्र अधिकारी, अनिता अधिकारी, आकृति अधिकारी, शर्मिला अधिकारी र आकांक्षा अधिकारीलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरियो। त्यसैगरी, अभिभावकहरू मोहन गिरी र मञ्जुरा राजवंशीका साथै शिक्षकहरू अनिता घिमिरे र रुपा मुर्मूलाई पनि उनीहरूको योगदानको कदर गर्दै सम्मानित गरिएको थियो। कार्यक्रममा पूर्व व्यवस्थापन समिति पदाधिकारी, शिक्षाप्रेमी र विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

​समारोहमा बोल्दै रेडक्रस हल्दीबारीका सभापति कर्णखर प्रसाई, शिक्षक अभिभावक संघका अध्यक्ष कमल प्रसाद फुयल र पूर्व अध्यक्ष ईश्वरी दाहालले विद्यालयको ऐतिहासिक यात्रा र विकासका बारेमा चर्चा गर्नुभएको थियो। त्यस्तै, हल्दीबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक पाख्रिन र सामाजिक व्यक्तित्व शर्मिला अधिकारीले सामुदायिक विद्यालयको उन्नतिमा सबै सरोकारवालाको साथ अपरिहार्य रहने धारणा राख्नुभयो। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष खिनादेवी घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक गोविन्द बोहराले स्वागत मन्तव्यसहित विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक सूर्यप्रसाद घिमिरेले गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article