समाचार
हल्दिबारी संवाददाता ५९ मिनेट अगाडि

हल्दीबारीमा रास्वपाको अन्तरक्रिया: ‘किसानका समस्या हल गर्दै अघि बढ्छौँ’

हल्दीबारी ,झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हल्दीबारी गाउँ कमिटीको आयोजनामा ‘हामी आउँदैछौँ’ अभियान अन्तर्गत झापाको हल्दीबारी-२ स्थित रेडक्रस भवनमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

​गाउँ कमिटी सभापति ओमराज राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रास्वपाका केन्द्रीय नेता तथा माननीय अशोक चौधरीको प्रमुख आतिथ्य रहेको थियो।

​कार्यक्रममा स्थानीय तहमा किसानहरूले भोग्दै आएका मल र बिउबिजनको अभाव, चिया किसानका समस्या, स्थानीय पर्यटन, अस्पतालको वस्तुस्थिति तथा आगामी स्थानीय चुनावका विषयमा व्यापक छलफल भएको छ। पार्टी महाधिवेशन प्रतिनिधि नवीन मैनाली, गाउँ कमिटी सभापति ओमराज राई, अग्रज पाटी सदस्य यमाकान्त निरौला, जेन्जी युवा पवन गिरी तथा विभिन्न वडाका सभापति – सचिवहरूले स्थानीय तहका जनताले भोग्नुपरेका विविध समस्याहरूबारे आ-आफ्नो धारणा राखेका थिए।

​स्थानीय स्तरबाट उठेका प्रश्नहरूको उत्तर दिँदै प्रमुख अतिथि चौधरीले सरकार आफ्नै लयमा अघि बढिरहेको दाबी गरे। “सरकार गठन भएको छ । ६ महिनामै सबै काम सम्पन्न गर्न नसकिए पनि पाँच वर्षका लागि जनताले दिएको जनादेश अनुसार नै हामी अघि बढ्छौँ,” चौधरीले भने, “किसानका समस्या, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा देखिएका गाँठाहरूलाई क्रमबद्ध रूपमा फुकाउँदै लैजान सरकार र पार्टी नेतृत्व निरन्तर लागिपरेको छ।”

​आगामी स्थानीय चुनावलाई लक्षित गर्दै उनले सरकारले देशैभरका पालिकाहरूलाई समान रूपमा बजेट व्यवस्थापन गरेको जानकारी दिए। साथै आगामी चुनावमा नेताका आसेपासे वा भरौटेलाई भन्दा पार्टीको विधि र परीक्षाबाट उत्तीर्ण भई जनविश्वास जित्ने निष्ठावान् कार्यकर्तालाई मात्र उम्मेदवार बनाइने स्पष्ट पारे। “पार्टीमा ‘म तेरो र तँ उसको’ भन्ने गुटबन्दी अन्त्य गरी सम्पूर्ण नेता-कार्यकर्ता एक ढिक्का भएर जनताको सेवामा लाग्नुपर्छ,” उनले निर्देशन दिए।

​कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य शोभा कार्की, कोशी प्रदेश उपसभापति राजन दाहाल, प्रदेश सदस्य प्रेमराज घिमिरे, झापा जिल्ला सभापति ओमनाथ भण्डारी, उपसभापति पुष्पराज ढकाल, जिल्ला सदस्य लक्ष्मण बस्नेत र क्षेत्रीय सभापति कमल बानियाँ लगायत जिल्ला, गाउँ तथा वडा तहका नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

​हल्दीबारी गाउँ कमिटी उपसभापति मनिषा भट्टराई कार्कीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन पार्टी सचिव असीम मैनालीले गरेका थिए।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)