विवेक रिजाल । जेलको चिसो भुइँमा बसेर दिन गनिरहँदा मलाई लाग्थ्यो, मेरो सजाय केवल यही पर्खालभित्र सीमित छ। तर म गलत थिएँ। मेरो एउटा गल्ती र कुलतको विषले मेरो सम्पूर्ण परिवारलाई नै सिध्याइदियो भन्ने सत्य थाहा पाउँदा मेरो छाती चिरेर आयो। म लागुपदार्थ दुर्व्यसन र ओसारपसारको केसमा पक्राउ परेर जेल परेको खबर अन्ततः विदेशमा हुनुभएका बुबाको कानसम्म पुग्यो। वर्षौँदेखि पसिना बगाएर परिवारको उज्ज्वल भविष्यको सपना बुनिरहनुभएका बुबाको लागि यो बज्रपात सरह भयो। उहाँ मलाई बचाउन र स्थिति सम्हाल्न भन्दै काम छाडेर हतार-हतार नेपाल फर्किनुभयो। तर, उहाँ फर्किँदा घरमा खुसी होइन, केवल आँसु र विनाश मात्र बाँकी थियो।
लागुपदार्थ ओसारपसारको मुद्दा भएकाले अदालतले तोकेको बिगो र जरिवाना अत्याधिक थियो। बुबाले विदेशमा रगत-पसिना बगाएर कमाएको अलि-अलि बचत जरिवाना भर्दै र वकिलको चक्कर काट्दै सिद्धियो। आर्थिक रूपमा हाम्रो परिवार पूर्ण रूपमा टाट पल्टियो। यता, म जेल परेको र परिवारको यो दुर्दशा देखेर मेरी आमाको मानसिक सन्तुलन बिग्रियो। दिनरात रुँदा-रुँदै उहाँ गहिरो मानसिक रोग (डिप्रेसन) को शिकार हुनुभयो। मलाई सुधार्न र मेरो भविष्य बनाउन आफ्नो सर्वस्व अर्पण गर्नुभएकी मेरी आमा आज मलाई नै सम्झेर टोलाउने र बर्बराउने अवस्थामा पुग्नुभयो। बुबालाई पनि छोराको यो गति र आर्थिक सङ्कटको तनावले छिटै गाँस्यो। उहाँलाई कडा उच्च रक्तचाप (High BP) को समस्या सुरु भयो। जुन बुबा परिवारको खम्बा हुनुहुन्थ्यो, उहाँ नै आज औषधिको सहारामा हुनुहुन्छ।
मेरो एउटा भूलले सिङ्गो परिवार लथालिङ्ग र छिन्नभिन्न भयो। सानो बहिनीको पढाइ बिग्रियो, घरमा चुलो बाल्नसम्म धौ-धौ पर्ने अवस्था आयो। आज म जेलभित्र पूर्ण रूपमा सुध्रिएको छु। मैले आफ्नो गल्ती महसुस गरिसकेँ, नसाको भूत मेरो टाउकोबाट उत्रिसकेको छ। म अब एउटा राम्रो र असल मान्छे बनेर आमा-बुबाको सेवा गर्न चाहन्छु। तर, कानुनको आफ्नै दायरा हुन्छ। मैले गरेको अपराधको सजाय र कानुनी प्रावधान अनुसार मैले आफ्नो जेल सजाय पूरा भुक्तान नगरी बाहिर निस्कन मिल्दैन।
हरेक पटक बुबा र आमा मलाई भेट्न जेलको भेटघाट कक्षमा आउँदा, उहाँहरूको अनुहारमा छाएको निराशा र रोगको चिन्ह देखेर म भित्रभित्रै मरेसरह हुन्छु। म सुध्रिएर पनि आफ्ना बिरामी आमा-बुबालाई एक घुट्को पानी खुवाउन वा सहारा दिन पाउँदिनँ। दुर्व्यसनले केवल प्रयोगकर्तालाई मात्र होइन, उसलाई माया गर्ने सिङ्गो परिवारलाई नै कसरी जीवितै जलाउँछ भन्ने उदाहरण आज मेरो घर बनेको छ। समय छँदै कुलतको बाटो त्यागौँ, नत्र पछि पश्चात्तापबाहेक केही बाँकी रहनेछैन।
यदि मेरो यो कथा कसैले पढिरहेको छ भने, म हात जोडेर बिन्ती गर्छु । नसा कहिल्यै कुनै समस्याको समाधान हुन सक्दैन। साथीहरूको गलत सङ्गत र क्षणिक आनन्दले जिन्दगीलाई जेलको यो चीसो भुइँमा ल्याएर पछार्छ। मैले त आफ्नो जीवन बर्बाद गरेँ, तर आशा छ, मेरो यो भोगाइबाट कसैले पाठ सिक्नेछ।
