समाचार
हल्दिबारी संवाददाता ६ घण्टा अगाडि

गेजिङ जिल्लालाई कृषिमा राष्ट्रिय सम्मान: पीएमडीडीकेवाई योजनाअन्तर्गत देशभरिमा तेस्रो स्थान

गेजिङ, २८ असोज । भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालयले प्रधानमन्त्री धन-धान्य कृषि योजना (पीएमडीडीकेवाई) अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेकोमा सिक्किमको गेजिङ जिल्लालाई सम्मानित गरेको छ।
​गत ११ अक्टोबरमा आयोजित यस योजनाको पहिलो वार्षिकोत्सव समारोहमा योजनाका छ वटा मुख्य उद्देश्यमध्ये कृषि उत्पादकत्व अभिवृद्धि विधामा देशभरिका १०० लक्षित जिल्लाहरूलाई पछि पार्दै गेजिङ जिल्ला तेस्रो स्थान हासिल गर्न सफल भएको हो।
​नयाँ दिल्लीस्थित एनएएससी कम्प्लेक्समा १२ अक्टोबरमा आयोजित एक विशेष कार्यक्रमकाबीच भारत सरकारका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो।
​यो प्रतिष्ठित उपलब्धिले गेजिङ जिल्लामा तयार पारिएको विशेष जिल्ला कार्य योजना (डीएपी) को सफल कार्यान्वयनलाई उजागर गरेको छ। विभिन्न विभागबीचको प्रभावकारी समन्वयमार्फत जिल्लाले कृषि क्षेत्रका पूर्वाधारसम्बन्धी कमी-कमजोरीहरूलाई सम्बोधन गर्दै कृषि प्रणालीलाई आधुनिकीकरण गर्न सफल भएको छ।
​यस राष्ट्रिय सफलताले सिक्किम राज्य र गेजिङ जिल्लाको गौरब बढाएको भन्दै जिल्ला प्रशासनले स्थानीय किसानहरू, कृषि अधिकारीहरू, योजनामा आबद्ध विभिन्न विभागका कर्मचारीहरू तथा सम्पूर्ण हितधारकहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ।
​प्राप्त जानकारी अनुसार दुर्गा पूजाको सार्वजनिक बिदा समाप्त भएपछि गेजिङ जिल्लाका जिल्लापाल (डीडीसी) तथा कृषि एवं बागवानी विभागका अधिकारीहरूको एक विशेष टोलीले यो प्रतिष्ठित राष्ट्रिय पुरस्कार राज्यका मुख्यमन्त्री पीएस गोलेलाई हस्तान्तरण गर्नेछ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)