समाचार
हल्दिबारी संवाददाता ५२ मिनेट अगाडि

झापा प्रशासनको एक्सन: उपभोक्ता ठग्ने झापाका ५ व्यवसायीलाई रु ५ लाख १५ हजार जरिवाना, २४ लाख बढीको सामग्री नष्ट

झापा । उपभोक्ता हितविपरीत कार्य गर्ने झापाका पाँच व्यवसायी जिल्ला प्रशासन कार्यालयको कारबाहीमा परेका छन्। भदौ २० देखि असोज २८ गतेसम्म सञ्चालन गरिएको विशेष बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गर्ने तथा अस्वाभाविक मूल्य असुल्ने व्यवसायीलाई कुल ५ लाख १५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

​जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त अवधिमा झापाका १३४ वटा पसल तथा व्यावसायिक फर्मको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा भेटिएका २ लाख ४० हजार ४४३ रुपैयाँ बराबरका म्याद गुज्रिएका तथा अखाद्य सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको छ।

​कारबाहीमा पर्नेमा म्याद गुज्रिएको गाईको दाना बिक्री गर्ने दास किराना पसल र अस्वाभाविक मूल्यमा फेन्सिङ वायर बिक्री गर्ने शिवम् ट्रेड एन्ड सप्लायर्स रहेका छन्। यी दुवै फर्मलाई जनही २ लाख रुपैयाँका दरले जरिवाना गराइएको छ।

​त्यसैगरी, श्रीराम अमिलो भण्डार र कमल आइस उद्योगलाई जनही ५० हजार रुपैयाँ तथा ओमशान्ति मिष्ठान्न भण्डारलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।

​चाडपर्वको समयमा उपभोक्ता ठगिने क्रम बढेपछि अनुगमनलाई तीव्र पारिएको हो। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि यस्ता बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)