समाचार
हल्दिबारी संवाददाता ५३ मिनेट अगाडि

झापा प्रशासनमा पोखरेलको एक महिना: ‘फेसलेस’ सेवादेखि ‘जेनजी’ आन्दोलनका घाइतेको प्रोफाइल निर्माणसम्म

झापा, २९ असोज । जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्रवणकुमार पोखरेलले पदभार सम्हालेको एक महिना पूरा भएको छ। यस अवधिमा प्रशासनले गरेका मुख्य काम तथा सुधारका प्रयासहरू बिहीबार एक औपचारिक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको छ।

​प्रशासनिक सेवालाई चुस्त, पारदर्शी र पूर्ण रूपमा जनमुखी बनाउने लक्ष्यका साथ विभिन्न अभियान सञ्चालन गरिएको सीडीओ पोखरेलले जानकारी दिए।

​‘शून्य बाँकी आवेदन’ अभियान

सरकारी सेवा लिन सर्वसाधारणले अनावश्यक झन्झट र ढिलासुस्ती व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले प्रशासनले ‘शून्य बाँकी आवेदन’ अभियान सञ्चालनमा ल्याएको छ।

​यस अभियानअन्तर्गत दैनिक बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म निरन्तर सेवा प्रवाह भइरहेको छ। कार्यालयमा दर्ता भएका आवेदनहरू सोही दिन फछ्र्यौट गर्ने व्यवस्था मिलाइएको सीडीओ पोखरेलले बताए।

​बिचौलिया रोक्न ‘फेसलेस’ सेवा र डिजिटल भुक्तानी

सेवाग्राहीलाई बिचौलियाको ठगी र झन्झटबाट मुक्त गराउन प्रशासनले प्रविधिमैत्री सेवामा जोड दिएको छ।

​प्रशासनिक प्रक्रियालाई थप पारदर्शी बनाउन ‘फेसलेस’ सेवा र अनलाइन भुक्तानी प्रणालीलाई प्रोत्साहन गरिएको छ। डिजिटल माध्यमको प्रयोगले सेवा प्रवाह सहज र प्रभावकारी बन्दै गएको प्रशासनको दाबी छ।

​बजार अनुगमनमा कडाइ र सुपथ मूल्य पसल

आसन्न चाडपर्वलाई लक्षित गर्दै सर्वसाधारणलाई राहत पुर्‍याउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ।

​यसैगरी बजारमा हुन सक्ने कालाबजारी, अस्वाभाविक मूल्यवृद्धि र अनियमितता नियन्त्रण गर्न अनुगमनलाई तीव्र पारिएको छ। उपभोक्ताको हित संरक्षण गर्दै बजारलाई पारदर्शी बनाउन प्रशासन लागिपरेको छ।

​‘जेनजी’ आन्दोलनका घाइतेको प्रोफाइल तयार

विभिन्न आन्दोलन तथा घटनाक्रमका क्रममा घाइते भएका ‘जेनजी’ आन्दोलनका घाइतेहरूको तथ्याङ्क सङ्कलन गरी विस्तृत प्रोफाइल तयार पारिएको सीडीओ पोखरेलले जानकारी दिए।

​कार्यक्रममा चाडपर्वको शुभकामना व्यक्त गर्दै उनले जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउन, सुशासन प्रवर्द्धन गर्न र नागरिकलाई पारदर्शी सेवा दिन जिल्ला प्रशासन प्रतिबद्ध रहेको बताए।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)