झापा । झापाको बिर्तामोडमा बिस्कुट खाने क्रममा घाँटीमा अड्किएर एक तीन वर्षीय बालकको दुःखद निधन भएको छ।
मृत्यु हुने बालक अर्जुनधारा नगरपालिका–९ स्थायी घर भई हाल बिर्तामोड नगरपालिका–९ स्थित मामाघरमा बस्दै आएका मनिष पाठकका तीन वर्षीय छोरा हरिराम पाठक रहेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनीले दिएको जानकारीअनुसार बिहीबार दिउँसो करिब ४:४० बजे बिस्कुट खाँदा घाँटीमा अड्किएपछि बालक एकाएक अचेत बनेका थिए। घटनालगत्तै उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पताल पुर्याइएको भए पनि साँझ ५:१५ बजे चिकित्सकले जाँच पछि मृत घोषणा गरेका थिए।
अहिले बालकको शव बिर्तामोड नगर अस्पतालमै राखिएको छ भने घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
