अल्दिबारी । झापाको अर्जुनधारा नगरपालिका–११ का सात अव्यवस्थित बसोबासी परिवारले जग्गाको स्वामित्व (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापामार्फत आवश्यक कानुनी प्रक्रिया पुरा गरी ती परिवारलाई लालपुर्जा वितरण गरिएको हो।
अर्जुनधारा नगरप्रमुख बलदेव गोमदेन तामाङको अध्यक्षतामा सम्पन्न लालपुर्जा वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं भूमि समस्या समाधान समितिका संयोजक श्रवणकुमार पोखरेलले जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गर्नुभयो। सो क्रममा अर्जुनधारा–११ का सुनिता विक (समेत), रेणुका देवी दर्जी, राहन सिंह याखा, सरिता दर्जी, बसन्त कुमार तामाङ, मुशान सुब्बा र रत्नबहादुर इङ्नामको परिवारलाई लालपुर्जा प्रदान गरिएको हो। उल्लेखित सात परिवारलाई कुल १ बिघा ४ कट्ठा ५ धुर (८ हजार २ सय २४ वर्गमिटर) जग्गाको लालपुर्जा उपलब्ध गराइएको छ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले झापामा ६२ हजारभन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले भूमि प्राप्तिका लागि आवेदन दिएको जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा भूमिहीन दलिततर्फ २ हजार ८ सय ९३, भूमिहीन सुकुम्बासीतर्फ १५ हजार ७ सय २८ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ६ सय ६६ जनाको निवेदन परेको छ।
जिल्लाका सबै १५ वटै स्थानीय तहको सक्रियतामा निवेदनहरूको द्रुत गतिमा छानबिन भइरहेको र प्रचलित कानुन अनुसार प्रक्रिया पुगेका आवेदकहरूलाई प्राथमिकताका साथ लालपुर्जा वितरण गर्दै जाने प्रजिअ पोखरेलले बताउनुभएको छ।
