समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

बडादसैँको शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले भने– ‘नवपुस्ताले देशवासीको मुहार हँसिलो बनाउने अभिलाषा छ’

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा देशवासीका नाममा शुभकामना सन्देश जारी गर्दै नवपुस्ताको नेतृत्वले देशवासीको मुहार हँसिलो बनाउने अभिलाषा व्यक्त गरेका छन्।

​शुक्रबार (असोज ३०) पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय (निर्मल निवास) मार्फत जारी शुभकामना सन्देशमा असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक दसैँले सबैलाई सत्य, न्याय र शक्तिको मार्गमा हिँड्ने सत्बुद्धि प्रदान गरोस् भन्ने कामना गरिएको छ।

​राजनीतिक तथा प्रशासनिक क्षेत्र अन्योलमा परेको टिप्पणी गर्दै पूर्वराजाले सन्देशमा भनेका छन्, “जोश जाँगर बोकेर राज्य सञ्चालनमा खडा भएको नवपुस्ताले देशवासीको मुहार हँसिलो रसिलो पार्छ भन्ने अभिलाषा राखिएको छ।” उनले विद्यमान विश्व परिवेश र भूराजनीतिलाई ध्यानमा राख्दै राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

​प्राकृतिक विपद् र बाढीपहिरोले देशका विभिन्न भागमा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले क्षतिको शीघ्र पुनर्रचना र पीडितको पुनस्थापनालाई प्राथमिक काम मान्नुपर्ने बताएका छन्। विपद्पछिको पुनर्निर्माणमा वैदेशिक सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्परा नजोगिने खतराप्रति सचेत गराउँदै उनले कूटनीतिक चातुर्य अपनाउन सुझाव दिएका छन्।

​भदौ १० गते भोटेकोशीमा आएको बाढी तथा असोजमा परेको अविरल वर्षा र बूढीगण्डकीको बाढीले पुर्‍याएको जनधनको क्षतिको स्मरण गर्दै पूर्वराजा शाहले प्रकृतिको नियमलाई स्वीकार गरी सन्तुलन र संरक्षणको नीति लिनुपर्ने उल्लेख गरेका छन्।

​शुभकामना सन्देशको अन्त्यमा उनले विभाजित नभई एकताबद्ध, परनिर्भर नभई आत्मनिर्भर र कमजोर नभई सबल नेपाल निर्माण गर्ने सोच सबैमा जागृत होस् भन्ने कामना गरेका छन्।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)