समाचार
हल्दिबारी संवाददाता ५१ मिनेट अगाडि

हल्दीबारीमा झाँकी र सलामीसहित हर्षोल्लासका साथ फूलपाती भित्र्याइयो

झापा, असोज । हल्दीबारी गाउँपालिका वडा नं. ४ को आयोजनामा हर्षोल्लासका साथ बडादसैँको सातौँ दिन शनिबार फूलपाती भित्र्याइएको छ। धार्मिक विधि र सांस्कृतिक झाँकी तथा र्यालीसहित वडावारि बजार परिक्रमा गरी फूलपाती भित्र्याइएको हो।

​वडा कार्यालय परिसरमा रहेको दुर्गा मन्दिरबाट सुरु भएको धार्मिक झाँकी र्याली स्थानीय बडाबारी बजार परिक्रमा गर्दै प्रसिद्ध पाथिभरा मन्दिर परिसर पुगेको थियो। पाथिभरा मन्दिरमा विशेष पूजाआजा गरी फूलपाती भित्र्याएपछि पुनः र्याली वडा कार्यालय परिसरमै रहेको देवी मन्दिरमा पुगेर समापन भएको थियो।

​कार्यक्रमका अवसरमा पाथिभरा देवी मन्दिर तथा वडा कार्यालय प्राङ्गणमा रहेको देवी मन्दिरमा नेपाल प्रहरीको टोलीले सलामी अर्पण गरेको थियो। विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँकी र किर्तन मण्डलीसहितको बाजागाजाले कार्यक्रमलाई थप आकर्षक र भव्य बनाएको थियो।

​वडा सदस्य सुनिल बाह्रकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिङ्देन, गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष देवीबहादुर थापा, वडा नं. ४ का अध्यक्ष सन्त कुमार थापा र नेपाल रेडक्रस सोसाइटी हल्दीबारी शाखाका अध्यक्ष रेमप्रसाद खरेल लगायतले बडादसैँको उपलक्ष्यमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

​कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घसंस्थाका पदाधिकारी, किर्तन मण्डली तथा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)