आज एकान्तमा बसेर तिम्रा बाल्यकालका यादहरू स्मरण गर्दा आँखाका डिलहरू स्वतः रसाएर आउँछन्। समय कति तीव्र गतिमा बगेछ, पत्तै भएन! हिजोअस्ति जस्तै लाग्छ । तिम्रा ती साना-साना कलिला हातहरूले मेरो औंला समातेर तोते बोलीमा 'आमा' भनेको। हेर्दाहेर्दै आज तिमी २० वर्षकी एउटी समझदार, गुणी र परिपक्व युवती भइसकेकी छ्यौ।
मलाई आज पनि उस्तै ताजै सम्झना छ । जब तिमी चार वर्षकी मात्र थियौ, तिम्रै निष्छल माया, ममता र निर्दोष आशीर्वाद थापेर हामीले सानो भाइलाई यस संसारमा स्वागत गरेका थियौ। भाइ जन्मिँदा तिम्रो त्यो सानो अनुहारमा छाएको उज्यालो र भ्रातृ-स्नेह देखेर एउटी आमाको रूपमा मेरो छाती गर्वले फुलेको थियो।
त्यसपछिका दिनहरू कसरी बिते, सम्झँदा अहिले पनि मन गाँठो पर्छ। परिवारको गर्जो टार्न र तिमीहरूको उज्ज्वल भविष्यका लागि जब म र तिम्रा बाबा बाध्यताको भारी बोकेर तिमीहरूलाई छाडी परदेशिनु पर्यो, त्यतिबेला तिमी आफैं काँचो उमेरकी थियौ। तर तिमीले आफ्नो बालपना छाडेर एउटी परिपक्व आमाको भूमिका निभायौ। आफू रोएर पनि भाइलाई हँसायौ। तिमीले उसलाई आमाको जस्तै न्यानो संस्कार र ममता दियौ, बाबाको जस्तै छत्रछायाँ र आड-भरोसा दियौ । आज त्यो सानो भाइ १६ वर्षको युवा भइसक्यो। यी १६ वर्षहरूमा कहिले पनि तिहारमा उसको निधार खाली भएन, न त तिमीले उसको मनमा कहिल्यै आमा-बाबा नभएको रित्तोपन महसुस हुन दियौ। आमा-बाबा दुवै परदेशमा हुँदा पनि तिमीले घरलाई मन्दिर बनायौ, भाइलाई मायाको कमी हुन दिएनौ र उसको ओठमा सधैं मुस्कान सजाइराख्यौ।
तर आज समयको चक्र कति निष्ठुरी रहेछ! हिजोसम्म हाम्रा लागि आफ्नो खुसी र बाल्यकाल त्याग्ने मेरो कलेजोकी टुक्रा तिमी नै आज परदेशी बनेकी छ्यौ। आँगनमा फेरि दशैं र तिहारको रौनकता छाउँदैछ। चारैतिर हर्ष र खुसीका गीतहरू गुञ्जिरहेका छन्, तर मेरो छातीभित्र भने पीडाको आँधी चलिरहेछ। छोरी, तिमी बिनाको यो चाडपर्व यहाँ हामी कसरी मनाऊँ?
रित्तो घर, रित्तो आँगन र झनझन् रित्तो लाग्ने यो आमाको काख! भोलि तिहारको दिन जब भाइ सप्तरङ्गी टीका र मखमलीको माला पर्खेर बस्नेछ, तिम्रो स्नेहपूर्ण हातको अभावमा उसले टोलाएर बाटो हेर्दा यो आमाको मन कसरी थाम्ने होला? तिमी बिना त यी चाडपर्वहरू केवल सम्झनाका घाउ मात्र बन्ने भए छोरी!
तिमी जहाँ भए पनि तिम्रो स्वास्थ्य, सुरक्षा र उज्ज्वल भविष्यका लागि यो आमाको हर धडकनले भगवानसँग प्रार्थना गरिरहनेछ। तिमी मेरो हिम्मत हौ, मेरो गर्व हौ।
तिम्रो सुस्वास्थ्य र सफलताको कामना ।
तिम्रो आमा

विवेक रिजाल
आजीवन सदस्य
चेतना नेपाल विर्तामोड ४ झापा