समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

भद्रपुरको प्लाई फ्याक्ट्रीमा मध्यराति भीषण आगलागी: १ करोड ७० लाखभन्दा बढीको क्षति

झापाको भद्रपुरस्थित एक प्लाई उद्योगमा मध्यराति भीषण आगलागी हुँदा १ करोड ७० लाख रुपैयाँभन्दा बढीको ठूलो भौतिक क्षति भएको छ। भद्रपुर नगरपालिका वडा नम्बर ५ स्थित भद्रपुर बजारमा उद्योगी प्रदीप सरावगीले सञ्चालन गर्दै आएको सूर्य प्लाई फ्याक्ट्रीमा गएराति करिब १२:२० बजेको समयमा अचानक आगलागी भएको हो।

​आगलागी हुनासाथ स्थानीयवासीले सीमा सुरक्षा गुल्म हेडक्वार्टर भद्रपुरमा खबर गरेपछि सुरक्षाकर्मी, नगर प्रहरी र स्थानीयको टोली तत्काल उद्धारमा खटिएको थियो। सशस्त्र प्रहरी नायब उपरीक्षक विजय थापाको कमान्डमा खटिएका १० जना सशस्त्र प्रहरी, वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक सञ्जीव चौधरीको कमान्डमा पुगेका ५ जना जनपद प्रहरी, भद्रपुर तथा बिर्तामोड नगरपालिकाका दमकल र करिब ५० देखि ६० जना स्थानीयवासीको अथक प्रयासमा आगो नियन्त्रणमा ल्याइएको थियो।

​विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उक्त दुर्घटनामा उद्योगभित्र रहेका बहुमूल्य मेसिनहरू तथा तयारी एवम् कच्चा प्लाइउड पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब १ करोड ७० लाख रुपैयाँ बराबरको धनमाल स्वाहा भएको अनुमान गरिएको छ भने घटनाको वास्तविक क्षति र कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)