✍️ नारायणबहादुर बस्नेत /मेचिनगर-८ झापा
भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले राजनीतिक दलहरूलाई स्पष्ट सन्देश दिएको थियो, अब पुरानै सोच र कार्यशैलीबाट राजनीति चल्दैन। नेपाली कांग्रेस पनि बदलिनुपर्छ, रूपान्तरण हुनुपर्छ भन्ने जनअपेक्षा थियो। आन्दोलनपछि गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफ्नै घर जलेको पीडाभन्दाआफ्नै पार्टीका नेता एवम् कार्यकर्ताहरूको घरमा भएको क्षतिप्रति पार्टीको धारणा सार्वजनिक गरेको घटनाले पनि उहाँहरूको राजनीतिक दृष्टिकोणबारे चर्चा भएको थियो। त्यसैले उहाँहरूले अघि सारेको परिवर्तनको अभियानप्रति हामीजस्ता भुइँ तहका कार्यकर्तामा नयाँ आशा जागेको थियो।
०८२ असोज २८ गते विशेष महाधिवेशनको मागसहित केन्द्रीय कार्यालयमा निवेदन दर्ता भयो। तर समयमै सुनुवाइ हुन सकेन। विधानले व्यवस्था गरेको तीन महिनाभित्र माग सम्बोधन नभए विशेष महाधिवेशनको निवेदनको औचित्य नै कमजोर हुने अवस्था थियो। अन्ततः पौष २८ गते विशेष महाधिवेशन भयो, विधान संशोधन गरियो र पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने प्रयास अघि बढ्यो। हाम्रो अपेक्षा थियो, अब कांग्रेसमा गुटभन्दा विचार, पहुँचभन्दा योगदान र आग्रहभन्दा न्यायले प्राथमिकता पाउनेछ।
तर झापा क्षेत्र नं. १ को पन्ध्रौँ महाधिवेशनअन्तर्गतका केही निर्वाचन परिणाम र त्यसपछि सुनिएका गुनासोले पार्टीभित्र प्रतिनिधित्व र अवसरको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने देखिएका छन्।
वडा अधिवेशन ०८३ असोज ३ र ४ गते, नगर सभापति र उपसभापतिको निर्वाचन असोज ७ गते सम्पन्न भयो। प्रदेश र क्षेत्रीय तहका पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता असोज १० गते भयो। असोज ११ गतेको मतदान ढिलो गरी सम्पन्न हुँदा अन्तिम परिणाम असोज १३ गते बिहान सार्वजनिक भयो। सर्वसम्मतिका प्रयास भए पनि सबै ठाउँमा सहमति जुट्न सकेन।
निर्वाचनमा प्रतिस्पर्धा हुनु लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो। जित्नेले जिम्मेवारी पाउनु र हार्नेले परिणाम स्वीकार गर्नु लोकतान्त्रिक संस्कार हो। तर एउटै क्षेत्रका साथीहरू पटकपटक प्रतिस्पर्धामा उत्रिएर उपविजेतामै सीमित भइरहँदा त्यसले उनीहरूको मनोबल र संगठनप्रतिको अपनत्वमा पार्ने प्रभावबारे नेतृत्वले पनि सोच्नुपर्छ।
भद्रपुर नगरपालिका वडा नं. ९ र १० अर्थात् साविक चन्द्रगढी गाविस क्षेत्रका साथीहरूको गुनासो केन्द्रीय महाधिवेशन प्रतिनिधिमा देवेन्द्र गौतम लगातार तीनपटक उपविजेता बन्नुभएको छ भने राजेन्द्र रिजाल दुईपटक त्यही परिणाममा रोकिनुभएको छ। लावण्य (लव) पोखरेलले चौधौँ महाधिवेशनमा क्षेत्रीय सचिवको उम्मेदवारी फिर्ता लिएर सहमतिका लागि सहयोग गर्नुभएको थियो भने यसपटक क्षेत्रीय सहसचिव पदमा उम्मेदवारी दिनुभएको थियो। उहाँसहित चारजना प्रतिस्पर्धामा रहँदा मेचीनगर–७ का चन्दन गौतम विजयी हुनुभयो।
यी परिणामलाई कसैको व्यक्तिगत हार वा जितका रूपमा मात्र हेर्नु उचित हुँदैन। विजयी साथीहरूको योगदानको सम्मान गर्दै लामो समयदेखि पार्टीमा सक्रिय र निरन्तर प्रतिस्पर्धा गरिरहेका साथीहरूको मनोबल तथा प्रतिनिधित्वको प्रश्नलाई पनि गम्भीरतापूर्वक लिनुपर्छ।
चन्द्रगढीमा आफ्नै कामले गएको बेला रमेश पोखरेल, राजेन्द्र रिजाल, लावण्य (लव) पोखरेल र देवेन्द्र गौतमसँग भेट भयो। उहाँहरूले आफ्नो क्षेत्र पार्टीभित्र उपेक्षामा परेको अनुभूति सुनाउनुभयो। त्यसपछि त्यहाँका अन्य साथीहरूसँग पनि कुराकानी गर्दा धेरैको गुनासो उस्तै पाएँ।
मेचीनगर–१५ मा पनि बौद्धिक व्यक्तित्वहरूलाई पन्छाउँदाको परिणाम भोग्नुपरिरहेको छ भन्ने गुनासो सुनिन आएको छ। पार्टीलाई जीवन्त राख्दै समयअनुकूल अगाडि बढाउन बौद्धिक व्यक्तित्व र विचारशील कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुन्छ। तर त्यस्ता व्यक्तिहरूलाई माथिल्लो तहमा पुग्ने अवसरबाट वञ्चित गरिँदा आफ्नो क्षेत्रको आवाज बन्द गरिएजस्तो अनुभूति आम कार्यकर्तामा हुन थालेको छ। अन्य क्षेत्रमा पनि यस्तै अवस्था र गुनासाहरू सुनिन थालेका छन्। यी आवाजलाई व्यक्तिगत असन्तुष्टिका रूपमा मात्र नहेरी पार्टीभित्र अवसर, सम्मान र प्रतिनिधित्वको सन्तुलन कायम गर्नुपर्ने आवश्यकताका रूपमा बुझ्नु नेतृत्वको जिम्मेवारी हो।
उहाँहरूको गुनासो थियो, स्थानीय तहको निर्वाचनमा भद्रपुर नगरपालिकाका उम्मेदवारलाई मत दिन्छौँ, तर प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा झापा क्षेत्र नं. १ का उम्मेदवारलाई मत दिन्छौँ। यसरी हाम्रो क्षेत्र नै फरक छ। भद्रपुर नगरपालिका क्षेत्र नम्बर ३ मा ९ र १० बाहेक सबै वडा पर्छन। पार्टीको संगठननिर्माण र निर्वाचनमा हामी पनि खटिन्छौँ, त्यसैले नेतृत्व चयन र अवसर प्राप्तिमा हाम्रो क्षेत्रको योगदानले पनि उचित स्थान पाउनुपर्छ।
यो कुनै क्षेत्रविरुद्धको आवाज होइन, आफ्नै पार्टीभित्र सम्मान, न्यायपूर्ण प्रतिनिधित्व र सम्मान अवसर खोजिरहेका कार्यकर्ताको भावना हो। यसलाई व्यक्तिगत असन्तुष्टि भनेर पन्छाउनुको सट्टा संगठनलाई अझ बलियो बनाउने अवसरका रूपमा लिनुपर्छ।
क्षेत्रीय प्रतिनिधि केवल मतदाता मात्र होइनन्, पार्टीको नेतृत्व चयन गर्ने जिम्मेवार प्रतिनिधि हुन्। त्यसैले नेतृत्व छनोट गर्दा गुटगत आग्रहभन्दा माथि उठेर उम्मेदवारको क्षमता, योगदान, भूगोल, वर्ग र समुदायको सन्तुलित प्रतिनिधित्वलाई ध्यान दिन आवश्यक छ। मेचीनगरका साथीहरूको योगदानलाई कम आँक्नु हुँदैन, न त चन्द्रगढीका साथीहरूको गुनासोलाई बेवास्ता गर्न मिल्छ। पार्टीको हित भनेकै सबै क्षेत्रले समान अपनत्व र सम्मान महसुस गर्न सक्नु हो।
आगामी स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा कांग्रेसलाई जिताउन सबै क्षेत्रका कार्यकर्ता एकजुट हुनुपर्छ। तर पार्टीको निर्वाचनका बेला एकताको अपेक्षा गर्ने र पार्टीभित्र अवसर तथा प्रतिनिधित्वको सन्तुलन कायम गर्न नसक्ने हो भने कार्यकर्ताको मनोबल कमजोर हुन सक्छ। त्यसैले नेतृत्वले यस्ता गुनासोलाई समयमै बुझेर न्यायपूर्ण समाधान खोज्नु आवश्यक छ।
गगनकुमार थापा र विश्वप्रकाश शर्माले अघि सारेको रूपान्तरणको अभियानप्रति हाम्रो विश्वास छ। विशेष महाधिवेशनबाट सुरु भएको परिवर्तनको सन्देश वडा र क्षेत्रसम्म व्यवहारमा देखिनुपर्छ। नेतृत्व बदलिनु मात्र रूपान्तरण होइन, निर्णय प्रक्रियामा न्याय, कार्यकर्ताप्रति सम्मान र सबै क्षेत्रलाई समेट्ने राजनीतिक संस्कार स्थापित हुनु पनि रूपान्तरण हो।
चन्द्रगढीको आवाज सुन्नु कुनै एउटा क्षेत्रलाई प्राथमिकता दिनु होइन, कांग्रेसभित्र सबै क्षेत्रले समान सम्मान र अवसर पाउने वातावरण बनाउनु हो। आज उपविजेता बनेका साथीहरूको योगदानको उचित मूल्याङ्कन गर्दै सबैलाई समेट्न सकियो भने मात्र रूपान्तरणको अभियान बलियो हुनेछ। किनकि कांग्रेस बदलिनु भनेको नेतृत्व परिवर्तन हुनु मात्र होइन, पार्टीका प्रत्येक कार्यकर्ताले आफ्नो योगदानको सम्मान भएको अनुभूति गर्न सक्नु पनि हो।
जय नेपाल!
