समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

मनोरञ्जनभित्र लुकेको राजनीति, प्रेम र समाजको तीतो यथार्थ : ‘छ माया छपक्कै–२’

अभिषेक खतिवडा : हिजो केही समय दैनिक जीवनका व्यस्तता र जिम्मेवारीलाई थाती राखेर ‘छ माया छपक्कै–२’ हेर्ने अवसर मिल्यो। चलचित्र हेर्दै गर्दा मनमा एउटा कुरा बारम्बार आइरह्यो—हामीले पर्दामा देखिरहेको कथा केवल केही पात्रको जीवनकथा होइन, कतै न कतै हाम्रै समाजको प्रतिबिम्ब पनि हो।

‘छ माया छपक्कै–२’ लाई केवल प्रेमकथा वा हास्यव्यङ्ग्यमा सीमित गरेर हेर्नु यसको मूल भावलाई साँघुरो बनाउनु हो। मनोरञ्जनको आवरणभित्र चलचित्रले नेपाली समाजमा जरा गाडेर बसेका राजनीतिक स्वार्थ, जातीय विभेद, सामाजिक आडम्बर, पारिवारिक अपेक्षा र युवाका अधुरा आकाङ्क्षालाई उजागर गर्ने प्रयास गरेको छ। हाँसोका दृश्यबीच पनि यसले दर्शकलाई आफ्नै सोच, व्यवहार र सामाजिक संरचनामाथि प्रश्न गर्न बाध्य बनाउँछ।

राजनीतिमा सिद्धान्तभन्दा स्वार्थ ठूलो हुँदै जाँदा त्यसको मूल्य व्यक्ति मात्र होइन, परिवार र समाजले पनि चुकाउनुपर्छ। परिवर्तनको नारा लगाउनेहरू व्यवहारमा पुरानै विभेद र असमानताको पक्षपोषण गर्छन् भने त्यस्तो परिवर्तनको औचित्य के रहन्छ? चलचित्रले यही विरोधाभासलाई विभिन्न पात्र र घटनामार्फत प्रस्तुत गरेको छ।

यसको एउटा महत्त्वपूर्ण पक्ष जातीय विभेदसँग सम्बन्धित छ। सार्वजनिक मञ्चमा समानता र सामाजिक न्यायको वकालत गर्ने राजनीतिक नेतृत्वले आफ्नै परिवारको विषय आउँदा त्यही सिद्धान्तलाई बिर्सनु हाम्रो समाजको गम्भीर विडम्बना हो। दलित समुदायको अधिकारलाई राजनीतिक लाभका लागि उपयोग गर्ने, तर आफ्नै घरभित्र समानताको अभ्यास गर्न नसक्ने प्रवृत्तिमाथि चलचित्रले व्यङ्ग्य गरेको छ। यसले स्पष्ट पार्छ।समानताको नारा लगाउनु र समानतालाई जीवनमा आत्मसात् गर्नु फरक कुरा हुन्।

परिवारभित्रको प्रेम र सामाजिक प्रतिष्ठाबीचको द्वन्द्व पनि चलचित्रको अर्को गम्भीर पक्ष हो। वंश, परम्परा, इज्जत र सामाजिक मान्यताका नाममा सन्तानको इच्छामाथि नियन्त्रण राख्ने प्रवृत्तिले कति सम्बन्धलाई कमजोर बनाउँछ भन्ने कुरा यसले देखाउन खोजेको छ। आखिर परिवारको प्रतिष्ठा जोगाउने नाममा आफ्नै सन्तानको खुसी र प्रेमको हत्या गर्नु कस्तो संस्कार हो? समाजले स्वीकृति दिएको सम्बन्ध मात्र सही र समाजले प्रश्न उठाएको सम्बन्ध गलत हुन्छ भन्ने सोचमाथि पनि पुनर्विचार गर्न आवश्यक छ।

राजनीति : परिवर्तनको नारा कि व्यक्तिगत उन्नतिको माध्यम?

चलचित्रको राजनीतिक पक्षले विशेष ध्यान खिच्छ। जनताको जीवन बदल्ने सपना बोकेर राजनीतिमा प्रवेश गरेका पात्र र समयसँगै आफ्नो जीवनस्तर बदल्न सफल भएका नेताहरूबीचको अन्तरले गम्भीर प्रश्न उठाउँछ। परिवर्तनका लागि सङ्घर्ष गर्ने इमानदार कार्यकर्ता अभाव, निराशा र उपेक्षामा बाँचिरहँदा नेतृत्वको जीवनशैली भने विलासी बन्दै जानु राजनीतिक आदर्शमाथिकै प्रश्न हो।

हिजो सामान्य जीवनबाट राजधानी प्रवेश गरेका नेताहरू आज महँगा घडी, आकर्षक पहिरन र विलासी गाडीसहित गाउँ फर्कन्छन्, तर उनीहरूकै परिवर्तनको सपना बोकेका सर्वसाधारणको दैनिकी उस्तै रहन्छ। यस्तो दृश्यले राजनीतिक सफलताको वास्तविक मापन के हो भन्ने प्रश्न जन्माउँछ। नेताको व्यक्तिगत प्रगति मात्र राजनीतिक परिवर्तन होइन; जनताको जीवनमा आएको सकारात्मक परिवर्तन नै राजनीतिक उपलब्धिको वास्तविक आधार हुनुपर्छ।

चलचित्रले कम्युनिस्ट आडम्बर, लोकतान्त्रिक स्वतन्त्रता र राजनीतिक व्यवहारबीचको विरोधाभासलाई पनि प्रस्तुत गर्ने प्रयास गरेको छ। यहाँ प्रश्न कुनै एउटा विचारधारा सही वा गलत भन्ने मात्र होइन, जुनसुकै विचारधारा अपनाए पनि त्यसको मूल्याङ्कन नाराबाट होइन, व्यवहार र परिणामबाट हुनुपर्छ भन्ने हो। सिद्धान्तको भाषण दिन सजिलो छ, तर त्यही सिद्धान्तलाई आफ्नै जीवन, परिवार र सार्वजनिक जिम्मेवारीमा लागू गर्नु कठिन छ।

छोरा मान्छेको जीवन : आफ्ना लागि भन्दा अरूका लागि बाँच्ने बाध्यता

चलचित्रको अर्को भावनात्मक पाटोले छोरा मान्छेको जीवनमा आइपर्ने जिम्मेवारी र मानसिक द्वन्द्वलाई सम्झाउँछ। समाजले पुरुषलाई बलियो हुन, परिवारको जिम्मेवारी उठाउन, आमाबुबाको अपेक्षा पूरा गर्न, श्रीमतीको भविष्य सोच्न र आर्थिक रूपमा सफल बन्न निरन्तर दबाब दिइरहेको हुन्छ। उसले आफ्ना इच्छा, सपना र पीडालाई पछाडि राखेर अरूको खुसीका लागि बाँच्नुपर्ने अवस्था पनि आइपर्छ।

बाहिरबाट हेर्दा ऊ हाँसिरहेको, सङ्घर्ष गरिरहेको र सबै कुरा सम्हालिरहेको देखिन्छ; तर भित्रभित्रै आफ्नै चाहना र जिम्मेवारीबीचको द्वन्द्वसँग जुधिरहेको हुन सक्छ। आफ्ना लागि एउटा निर्णय लिन खोज्दा परिवारको अपेक्षा अगाडि आउँछ, परिवारका लागि त्याग गर्दा आफ्नै सपना अधुरो रहन्छ। यही द्वन्द्व पुरुष जीवनको एउटा यथार्थ हो।

राजा पात्रको जीवनमा राजनीति, प्रेम, पारिवारिक अपेक्षा र भविष्यप्रतिको अन्योल एकै ठाउँमा ठोक्किन पुग्छन्। राजनीतिक यात्रामा आएको अवरोधपछि पठाओबाट आफ्नो भविष्य खोज्नुपर्ने अवस्था र प्रेमले पुनः राजनीतितर्फ आकर्षित गर्नुले मानिसको जीवन सधैँ उसले बनाएको योजनाअनुसार मात्र अघि बढ्दैन भन्ने देखाउँछ। आर्थिक असुरक्षा, विदेशप्रतिको आकर्षण र स्वदेशमै केही गर्ने चाहनाबीचको द्वन्द्व आजका धेरै युवाको साझा अनुभवसँग जोडिन्छ।

तर एउटा कुरा विचारणीय छ—अरूका लागि बाँच्नु जिम्मेवारीको परिचायक हुन सक्छ, तर आफ्नै जीवन र सपनालाई पूर्ण रूपमा बिर्सनु पनि न्यायसङ्गत हुँदैन। परिवार र समाजका अपेक्षाबीच व्यक्तिको स्वतन्त्रता, आत्मसम्मान र खुसीले पनि उचित स्थान पाउनुपर्छ।

प्रेम, धर्म र सामाजिक आडम्बर

प्रेमलाई केवल दुई व्यक्तिबीचको आकर्षणका रूपमा मात्र बुझ्न मिल्दैन। प्रेमसँग परिवारको स्वीकृति, सामाजिक संरचना, आर्थिक अवस्था र व्यक्तिगत स्वतन्त्रता पनि जोडिएका हुन्छन्। चलचित्रले प्रेमको बाटोमा सामाजिक प्रतिष्ठा, जातीय सोच र पारिवारिक दबाब कसरी अवरोध बनेर उभिन्छन् भन्ने देखाउने प्रयास गरेको छ।

त्यस्तै, धार्मिक आस्थाको नाममा विवेकलाई पन्छाउँदा समस्या समाधान हुनुको सट्टा झन् जटिल बन्न सक्छ भन्ने सन्देश पनि चलचित्रमा भेटिन्छ। धर्मले मानिसलाई सद्भाव, नैतिकता र करुणातर्फ प्रेरित गर्नुपर्छ; अन्धविश्वासले मानिसको निर्णय क्षमता र स्वतन्त्रतालाई नियन्त्रण गर्ने माध्यम बन्नु हुँदैन। आस्था र विवेकबीच सन्तुलन आवश्यक छ भन्ने पक्षलाई चलचित्रले मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ।

अभिनय उत्कृष्ट, तर कथावस्तु अझ कसिलो हुन सक्थ्यो

दीपकराज गिरी, दीपाश्री निरौला र दीपेन्द्र लामाको सिर्जनात्मक सहकार्यमा बनेको चलचित्रले गम्भीर सामाजिक विषयलाई मनोरञ्जनसँग जोड्ने प्रयास गरेको छ। दीपकराज गिरीले राजाको भूमिकामा प्रस्तुत गरेको राजनीतिक महत्त्वाकाङ्क्षा, प्रेम र पारिवारिक दबाबबीचको द्वन्द्व कथाको महत्त्वपूर्ण पाटो हो। केकी अधिकारीको अभिनयले पारिवारिक सम्बन्ध र विदेशप्रतिको आकर्षणलाई चित्रण गर्छ भने रमा थपलियाको उपस्थितिले धार्मिक आस्था र पारिवारिक अपेक्षाको पक्षलाई उजागर गर्छ।

त्यसैगरी, जातीय विभेद र प्रेमको प्रसङ्गसँग जोडिएका नयाँ कलाकारहरूको अभिनयले कथालाई थप प्रभावकारी बनाएको छ। रविन्द्र झा, कर्मा शाक्य, जीतु नेपाललगायत कलाकारको उपस्थितिले चलचित्रको मनोरञ्जनात्मक पक्षलाई बलियो बनाएको छ। दीपाश्री निरौलाको छोटो भूमिका पनि सन्देशका दृष्टिले अर्थपूर्ण लाग्छ।

यद्यपि, चलचित्रले एकैपटक राजनीति, प्रेम, जातीय विभेद, पारिवारिक विखण्डन, धार्मिक आस्था, पुरुषको जिम्मेवारी र युवाको विदेशमोहजस्ता धेरै विषय समेट्न खोजेको छ। यसले कथालाई व्यापक त बनाएको छ, तर कतिपय विषयलाई पर्याप्त गहिराइमा पुगेर प्रस्तुत गर्न कठिन भएको अनुभूति हुन्छ। केही पात्रको आन्तरिक द्वन्द्व र निर्णयको परिणामलाई अझ विस्तारमा देखाउन सकेको भए कथा थप प्रभावकारी बन्न सक्थ्यो।

झन्डै तीन घण्टाको अवधिमा धेरै कुरा भन्न खोज्नु आफैँमा कमजोरी होइन; तर हरेक विषयलाई कथाको मूल प्रवाहसँग सन्तुलित रूपमा जोड्नु महत्त्वपूर्ण हुन्छ। यस अर्थमा चलचित्र उत्कृष्ट हुँदाहुँदै पनि दीपक–दीपाको निर्माण र दीपेन्द्र लामाको लेखन–निर्देशनबाट अझ परिष्कृत तथा कसिलो प्रस्तुति अपेक्षा गर्न सकिन्थ्यो।

अर्को दसैँमा ‘छ माया छपक्कै–३’ आउने घोषणाले कथालाई निरन्तरता दिने अपेक्षा जगाएको छ। तर चलचित्रको अन्त्यमा कथालाई अर्को भागतर्फ मोड्ने शैलीले तत्कालीन कथाको भावनात्मक निष्कर्षलाई केही अपूरो बनाएको अनुभूति हुन्छ। आगामी भागमा राजाको राजनीतिक यात्राले जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने बाटो समात्न सकेमा अहिले उठाइएका प्रश्नहरूले थप अर्थ पाउनेछन्।

निष्कर्ष : पर्दामा देखिएको समाज, समाजमा देखिनुपर्ने परिवर्तन

‘छ माया छपक्कै–२’ हेरेपछि मनमा बसेको मुख्य भाव यही हो।मानिसको वास्तविक चरित्र उसले सार्वजनिक रूपमा बोल्ने सिद्धान्तले होइन, निजी जीवनमा गर्ने व्यवहारले निर्धारण गर्छ। समानताको भाषण गर्ने व्यक्तिले आफ्नै घरमा विभेद गर्छ भने उसको आदर्श खोक्रो हुन्छ। जनताको परिवर्तनको नारा लगाउने नेताले आफ्नै जीवन मात्र बदल्छ भने उसको राजनीतिक सफलतामाथि प्रश्न उठ्छ। परिवारको प्रतिष्ठा जोगाउने नाममा सन्तानको खुसी खोसिन्छ भने त्यस्तो प्रतिष्ठाको अर्थमाथि पुनर्विचार गर्नुपर्छ।

समाज परिवर्तन गर्न ठूला भाषण, आकर्षक नारा र राजनीतिक अभियान मात्र पर्याप्त हुँदैनन्। परिवर्तनको सुरुवात आफ्नै सोच, व्यवहार, परिवार र सामाजिक सम्बन्धबाट हुनुपर्छ। जातीय समानता घरभित्रबाट सुरु हुनुपर्छ, लोकतान्त्रिक स्वतन्त्रता परिवारभित्र पनि सम्मानित हुनुपर्छ र राजनीतिक सिद्धान्त जनताको जीवनमा अनुभूत हुनुपर्छ।

चलचित्रले उठाएका यी प्रश्नहरू आजको नेपाली समाजका लागि सान्दर्भिक छन्। युवाको सपना, राजनीतिक नेतृत्वप्रतिको अपेक्षा र पुराना सामाजिक मान्यताविरुद्ध उठिरहेका आवाजलाई हेर्दा नयाँ पुस्ताले खोजेको परिवर्तन केवल सत्ता परिवर्तन होइन, सोच र व्यवहारको परिवर्तन पनि हो भन्ने लाग्छ।

अन्ततः ‘छ माया छपक्कै–२’ पूर्ण रूपमा निर्दोष चलचित्र नहोला, तर यसले हँसाउँदै सोच्न र मनोरञ्जन दिँदै प्रश्न गर्न प्रेरित गर्छ। यही यसको महत्त्वपूर्ण उपलब्धि हो। चलचित्र हेरेर हलबाट बाहिरिँदा केवल पात्रका संवाद र हास्यदृश्य सम्झनु पर्याप्त हुँदैन; ती पात्रमार्फत देखाइएको समाजलाई पनि एकपटक नियाल्नुपर्छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)