हल्दिबारी । विजयादशमीको भोलिपल्ट अर्थात् आश्विन शुक्ल एकादशीका दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका, जमरा र मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम देशभर उत्साहका साथ जारी रहेको छ। विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा टाढा-टाढा रहेका चेलीबेटीहरूका लागि आज दोस्रो दिन पनि घरघरमा पुगेर टीका लगाउने र शुभकामना साटासाट गर्ने लहर चलेको छ।
नेपाली परम्पराअनुसार आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने प्रचलन रहिआएको छ। विशेष गरी दशैंको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा मान्यजनको हातबाट टीका थाप्न आउने गर्छन्।
हिन्दु पात्रोअनुसार आश्विन शुक्ल पक्षको एघारौँ तिथिलाई पापाङ्कुशा एकादशी भनिन्छ। वैष्णव परम्परामा यस एकादशीलाई विशेष महत्त्वका साथ लिइने गरिन्छ। यस दिन भगवान् विष्णुको पद्मनाभ स्वरूपको श्रद्धापूर्वक पूजा–आराधना गर्ने धार्मिक मान्यता रहेको छ।
धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार पापाङ्कुशा एकादशीको व्रत र भगवान् विष्णुको उपासनाले समस्त पापबाट मुक्ति प्राप्त हुने जनविश्वास छ। यस अवसरमा भक्तजनहरू व्रत बस्ने, फलाहार गर्ने, पूजा–पाठ गर्ने तथा एकादशी महात्म्यको कथा श्रवण गर्ने गर्दछन्।
नौ दिनसम्म नवदुर्गा भवानीको पूजा-आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरिएपछि सुरु भएको टीका-प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने यो क्रम आगामी कोजाग्रत पूर्णिमाका दिनसम्म निरन्तर जारी रहनेछ।
