झापा । झापाको हल्दीबारी गाउँपालिकामा शनिबार एकैसाथ १५१ जनाभन्दा बढी ‘जेन्जी’ (नयाँ पुस्ताका) युवाहरू स्वतस्फूर्त रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको आफ्नै गृहपालिका तथा निर्वाचन क्षेत्रसमेत रहेको हल्दीबारीमा आयोजित एक कार्यक्रमका बीच ती युवाहरू पार्टीमा प्रवेश गरेका हुन्। नवप्रवेशी युवाहरूलाई राप्रपाका केन्द्रीय अध्यक्ष लिङ्देनले सदस्यता वितरण गर्दै पार्टीमा स्वागत गरे।
नयाँ पुस्ताका युवाहरूको यो उत्साहजनक सहभागिताले संगठनलाई थप ऊर्जा र शक्ति प्रदान गरेको राप्रपाले जनाएको छ। देश निर्माणमा युवा नेतृत्वको आवश्यकतालाई आत्मसात गर्दै युवाहरू राजनीतिमा अग्रसर भएको बताइएको छ।
