झापा (हल्दिबारी ) — अवैध काठ नियन्त्रणमा लिने क्रममा झापाको शिवसताक्षीस्थित दोमुखामा काठ तस्कर र सुरक्षाकर्मीको टोलीबीच झडप भएको छ। शनिबार राति भएको उक्त झडपमा परी दुई जना वन कर्मचारी घाइते भएका छन्।
शिवसताक्षी–१० मा पर्ने कनकाई माई नदीमा गाडीको चारवटा ट्युबमार्फत २१ थान (अन्दाजी २२ क्युबिक फिट) सखुवाको काठ तस्करी भइरहेको सूचनाका आधारमा पुगेको संयुक्त टोलीमाथि तस्कर समूहले आक्रमण गरेको हो। १५ देखि २० जनाको सङ्ख्यामा रहेका काठ तस्करहरूले ढुङ्गामुढा गरेपछि सुरक्षाकर्मीले प्रतिवाद गरेका थिए।
तस्करको ढुङ्गा प्रहारबाट वन हेरालु ४० वर्षीय भोला थपलिया र वन समितिका सदस्य ३८ वर्षीय बुद्धकुमार लिम्बू घाइते भएका छन्। थपलियाको निधार र दाहिने खुट्टामा चोट लागेको छ। उनको कनकाई नगर अस्पताल सुरुङ्गामा उपचार भइरहेको छ। यस्तै देब्रे कुहिनोमा चोट लागेका लिम्बूको आम्दा अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी चौकी माईधारका प्रहरी सहायक निरीक्षक गणेशप्रसाद यादवको कमान्डमा खटिएको ४ जना प्रहरी र गैँडे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामध्वज लावतीको नेतृत्वमा रहेको १० जना गरी १४ जनाको संयुक्त टोलीले काठ नियन्त्रणमा लिएको हो।
तस्करीको काठ बरामद गरी गैँडे सामुदायिक वन उपभोक्ता समितिको जिम्मा लगाइएको छ। झडपपछि फरार रहेका तस्करहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
