समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

झापा प्रशासनको अनौठो पहल: तिहारको बिदामा पनि राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गरिने

चन्द्रगढी , झापा — तिहार पर्वको रौनक र बिदाको समयमा समेत सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, झापाले एक विशेष तथा उदाहरणीय सेवा सञ्चालनमा ल्याएको छ। सेवाप्रवाहमा आधारित शासन अर्थात् डेलिभरी-बेस्ड गभर्नेन्सको अवधारणालाई आत्मसात् गर्दै प्रशासनले दुई दिन, दुई सेवा: झापाली सेवाग्राहीको पेवा भन्ने नाराका साथ तिहारको बिदाको बीचमा पनि सेवा दिने भएको हो।

​कुनै आकस्मिक कारणले तिहारको रौनकमै कर्मक्षेत्र वा अन्यत्र फर्कनुपर्ने हतारोमा रहेका र तिहार बिदापछिको नियमित कार्यालय खुल्ने समयसम्म पर्खन नसक्ने सेवाग्राहीहरूलाई लक्षित गरी यो सेवा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभएको छ।

​जिल्ला प्रशासन कार्यालय, झापामा राहदानी र राष्ट्रिय परिचयपत्र तयारी अवस्थामा रहेका सेवाग्राहीहरूले आज कार्तिक २३ गते र भोलि कार्तिक २४ गते कार्यालयमा उपस्थित भई सेवा लिन सक्नेछन्। यसअन्तर्गत यदि सेवाग्राहीको राष्ट्रिय परिचयपत्रको कार्ड प्रिन्ट भई आएको छ भने यी दुई दिनभित्रै बुझेर लैजान सकिनेछ भने राहदानी प्रिन्ट भई आएकाहरूले पनि सोही मितिहरूमा कार्यालयबाट आफ्नो पासपोर्ट प्राप्त गर्न सक्नेछन्।

​अत्यन्तै जरुरी अवस्थामा रहेका सीमित सेवाग्राहीलाई लक्षित गरी सञ्चालन गरिने यो दुई दिवसीय विशेष सेवाका लागि फोकल पर्सनको सम्पर्क नम्बर ९८६२३२४२१५ तोकिएको छ। यसैगरी, आफ्नो कागजात तयारी अवस्थामा प्राप्त भएको छ वा छैन भनी अनलाइनमार्फत नै स्टाटस चेक गर्नका लागि सम्बन्धित कागजातको फोटो खिची ९८५२६५२०६६ नम्बरको ह्वाट्सएपमा पठाउन सकिने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ। यो ह्वाट्सएप नम्बर कागजातको जानकारी लिनका लागि मात्र प्रयोग हुनेछ। चाडपर्वको समयमा नागरिकले भोग्न सक्ने कठिनाईलाई मध्यनजर गर्दै सार्वजनिक सेवालाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले लिइएको यस कदमले झापाली सेवाग्राहीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)